National Jobs

– मुरारीराज मिश्र

आजभोलि हाम्रा बिभिन्न सामाजिक संस्कारहरु निकै नै खर्चिला हुंदै गएका छन् । सम्पन्न बर्गका सिमित ब्यक्तिहरुमा जागेको सम्पन्नता प्रदर्शन गर्ने महत्वाकांक्षा ले गर्दा मध्यमवर्गका ब्यक्तिहरुको लागि बिभिन्न चाडपर्वहरु लगायत पास्नी, ब्रतवन्ध, बिवाह, मृत्यु संस्कार आदि जस्ता अनिवार्य सामाजिक संस्कारहरु सम्पन्न गर्न कठिन मात्र होईन प्रायः असम्भव नै हुंदै गएको छ । टोल छिमेकका सम्पन्न व्यक्तिले गरेको भव्य समारोहहरुले गर्दा, एउटा सामान्य व्यक्तिले समाजमा आफ्नो उपस्थिति देखाउन (चलन चल्तीको भाषामा भन्नु पर्दा आफ्नो ईज्जत जोगाउन) ऋण गरेर वा घर खेत बेचेरै भए पनि त्यस्को देखासिकी गर्नै पर्ने बाध्यता छ । र यस्ता कार्यक्रम पश्चात, ऋण तिर्न नसकेर कैयौं व्यक्तिहरु सुकुम्वासी भएका र आत्महत्या गरेका उदाहरणहरु समेत हाम्रै समाजमा छ ।

दिन प्रतिदिन बढ्दै गएको महंगीले यसै पनि हामीलाई दैनिक गुजारा गर्न निकै कठिन हुंदै गई रहेको छ । राम्रो लाउने र मिठो खाने पर्वको रुपमा चिनिने दशैं, तिहार जस्ता चाडवाडहरु सामान्यरुपमै मनाउन पनि अहिलेको अवस्थामा साह्रै गाह्रो छ । यस्तो परिस्थितिमा देखासिकी गरेर होस् या छिमेकी/नातेदारहरुसंग प्रतिस्पर्धा गर्न चाडपर्व र सामाजिक संस्कारको लागि ऋण लिन हामी पछि पनि पर्दैनौं । चाडपर्वहरु र सामाजिक संस्कारहरु त आफन्तहरुसंगको भेटघाट, सम्वन्धको नविकरण र प्रेमको आदान प्रदान गरि पो मनाउनु पर्ने हो । सकिन्छ भने नयां लुगा लगाउन र मिठो खान जहिले पनि सकिन्छ । यस्को लागि चाडपर्व नै कुर्नु पर्छ र ?

Loading...

बिवाहमा त झन अनावश्यक तडक भडक गरिन्छ । सुरुमा टीका लगाउंदा (बिहेको कुरा पक्का गर्दा) नै सयौं जनाको लस्कर लिएर जाने, फेरी स्वयम्वर अनि जन्तीमा पनि सयौंको संख्यामा लैजाने परम्परा छ । यति मात्र होईन विवाह पछि सम्धीभेटका नाममा केटापक्षका आफन्तहरु सालीपट्टिका सातपुस्ता र भिनाजुपट्टिका नौ पुस्तासम्मकालाई केटीपक्षबाट गहना, उपहार र दक्षिणा दिनुपर्ने अघोषित चलन छ हाम्रो समाजमा । दाईजो त झन महारोगै भएको छ केटीपक्षका लागि । यस्तै महिलाको पर्वकोरुपमा चिनिने तीज पनि निकै भड्किलो बन्दै गएको छ । तीजको दरको नाममा महिनौं अघि देखि घर, पार्टी प्यालेस, होटेल र रेष्टुरेण्टमा भोज खाने चलन चलेको छ । सामान्य भेटघाटको रुपमा मितव्ययी तरिकाले कार्यक्रम गर्नुलाई सामाजिक पक्षबाट राम्रै मान्नु पर्छ । तर, फेसनकैरुपमा मौलाउंदै गएको यस्ता भड्किला तरिकाहरु भने पूर्णतः गलत हुन । सम्पत्ती छ भन्दैमा हवाईजहाज चार्टर गरि जन्ती ओसार्ने देखि पाउनालाई पाँचतारे होटेलमा राखि बेलायती सुट उपहार दिने केहि तथाकथित सभ्रान्त वर्गहरुको क्रियाकलापका कारणले गर्दा सामान्य पूजा–आजा र दान दक्षिणा गरेर पूरा गर्न सकिने जन्मोत्सव जस्ता संस्कारहरु अहिले भड्किलो तरिकाले पाश्चात्यशैलीमा लाखौं खर्चेर मनाईन थालिएको छ । सबै भन्दा ठूला बिडम्वना त यो छ कि, समाजमा आदर्श बन्नुपर्ने बिद्वान बुद्धिजिविहरु र देशलाई हाँक्ने राजनेता लगायत प्रायः सवै ठूला  भनाउँदा व्यक्तिहरु नै तँ भन्दा म के कम ? भन्ने होडवाजीमा लागेकोले यस्ता बिकृति दिन–प्रतिदिन बढ्दै गएको हो ।

यस्ता बिकृतिहरुको रोकथाम गर्न भनेर पञ्चायतकालमै सामाजिक सुधार ऐन बनेको थियो । जसमा पाउना, जन्तीहरुको संख्या लगायत खर्चको सीमा समेत तोकिएको थियो । तर कानून बनाउने व्यक्तिहरु देखि लिएर न्यायाधिस जस्ता कानून पालना गराउने व्यक्तिहरु बाटै त्यस्को ठाडो उल्लङ्घन भएपछि त्यस्ता नियमको पालना नै किन हुन्थ्यो र ? हुन त आज भोलि पनि हाम्रो देशमा कुन नियम र कानूनको पो समुचित पालना भएको छ र ?

यस्तो नचाहिंदो तड्कभड्क गर्नेलाई ठूलो मान्छे मान्ने हाम्रो समाजको दृष्टिकोणकै कारण पनि भ्रष्टाचार र अपराध मौलाएको हो । समाजलाई सदाचारमा राख्न पनि बर्तमान अवस्थामा समाजमा फैलिएको दाईजो प्रथा, तडक–भडक प्रदर्शन गर्ने प्रवृत्ति, महङ्गो भोज भतेर आदिमा नियन्त्रण गर्नु अति जरुरी भई सकेको छ । यस्को लागि सचेत नागरिक समाज, राजनीतिक दलहरु लगायतबाट कार्यक्रम थालिनुका साथै बिचार–बिमर्श र बहस शुरु हुनु पर्ने देखिन्छ । साथै सरकारले पनि यस्तो बिकृति रोक्न समसामयिक कानूनको तर्जुमा गरेर कडाईका साथ लागू गरि यस्लाई शैक्षिक पाठ्यक्रममा समेत समावेश गर्नु बर्तमान परिप्रेक्षमा अत्यन्तै आवश्यक  छ । नत्र हालःको सामाजिक बिकृतिरुपी यो रोगले भविष्यमा महामारीको रुप धारण गर्ने निश्चित छ । तसर्थ, नयां नेपाल बनाउने अभिभारा बोकेर हिंडेका राजनीतिक दल, सरकार, नागरिक समाज र सम्वद्ध सबैको यस तर्फ शीघ्र गम्भिर ध्यानाकर्षण हुनु जरुरी छ । र हामीले पनि आफ्नो घाँटी हेरी आफ्नो क्षमता अनुसार चाडपर्व मनाउने र सामाजिक संस्कार गर्ने गर्नुपर्दछ । परिवर्तनको सुरुवात आफैंबाट गरौं । हामी बदलियौं भने मात्र व्यक्ति, घर, परिवार हुंदै बिस्तारै समाज बदलिन्छ ।

उमामहेश्वर मार्ग, का.म.पा. ७, कुमारीगाल

फेसबुकबाट तपाईको प्रतिक्रिया दिनुहोस् !

Loading...