काठमाडौँ २६ पौष – अबको १० वर्षपछि विश्वको सर्वाधिक लोकप्रिय खेल फुटबलको विश्वकपमा ४८ देश सहभागी हुन पाउने भएका छन् । ज्युरिचमा आज बसेको फिफा कार्यसमितिको बैठकले सन् २०२६ को विश्वकपदेखि ४८ देश सहभागी हुन पाउने नयाँ नियमलाई अनुमोदन गरेको हो । गत वर्ष फिफा अध्यक्षमा इटालीका जियानी इन्फान्टिनो विजयी भएपछि उनले विश्वकपमा ४८ देश समावेश गर्ने वकालत गर्दै आएका थिए ।
इन्फान्टिनोले गत डिसेम्बरमा आयोजना भएको फिफा कंग्रेसमा पनि आफ्नो प्रस्ताव अगाडि सारेका थिए । जसलाई कार्यसमितिले आज अनुमोदन गरेको छ । नयाँ नियमअनुसार अब समूह चरणको खेलमा तीन टिमको सहभागिता हुनेछ भने सबै टोली १६ समूहमा विभाजन हुनेछन् । यसबाट छानेर आएका ३२ टोलीले नकआउट चरणको खेल खेल्ने छन् ।
देशको संख्या बढ्ने वित्तिकै विश्वकपमा खेलको संख्या पनि बढ्ने छ । हाल ३२ टिमका ६४ खेल हुने गरेकोमा अब ८० वटा खेल हुने बताईएको छ । खेलको संख्या बढेपनि विजेता टिमले अहिले जति नै ७ वटा खेल खेल्नुपर्नेछ । विश्वकप समापन हुन ३२ दिन लाग्नेछ ।