काठमाडौँ २८ भदौ – तेस्रो चराणको स्थानीय तहको चुनाब नजिकिदै गर्दा दलहरुले चुनाबी प्रचारप्रसारलाई तिब्रता दिएका छन् । यो चरणको चुनाबलाई प्रतिष्ठाको बिषय बनाएर लागि परेका दलहरुले मतदातालाई प्रभाब पार्न बिभिन्न रणनीतिहरु बनाउनमा ब्यस्त छन् । प्रमूख तीन दलका केन्द्रिय नेताहरु पनि सक्रियताका साथ मधेशको चुनाबी माहोल बनाउन लागिपरेका छन् ।

यो चुनाबलाई आफ्नो पक्षमा पार्न प्रधानमन्त्री शेर बहादुर देउवा सक्रियता साथ लाग्नु भएको छ । प्रदेश नम्बर २ मा हुने चुनाबको प्रचारप्रसारका लागि आयोजित चुनाबी सभाहरुमा सहभागि हुन तराई झर्नुभएका प्रधानमन्त्री देउवा आज पनि बिभिन्न सभाहरुमा ब्यस्त हुनुहुने भएको छ । यही असोज २ गते मधेशमा बिभिन्न ८ जिल्लामा हुन लागेको चुनाब आफ्नो पक्षमा पार्न दलहरु प्रतिष्ठाको बिषय बनाई लागि परेका छन् ।

काँग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवा स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुन लागेको प्रदेश नम्बर २ का आठवटै जिल्लाका चुनावी सभामा भाग लिन मधेश जानुभएको हो । कांग्रेसले भदौं ३० गतेसम्म आयोजना गर्ने महत्वपूर्ण चुनावीसभालाई प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालालगायत शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभापति देउवाले आज बिहान रामजानकी मन्दिरको दर्शनपछि केहिबेरमा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । सभापति देउवाले आजै दिउँसो जनकपुरधाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ । जनकपुरको सम्बोधनपछि देउवाले महोत्तरीको बर्दिबासमा पुगेर चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले भोली २९ गते सर्लाही र रौतहट तथा ३० गते पर्सा, बारा र वीरगन्जमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ ।

नेकपा माओवादी केन्द्र 
त्यस्तै सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज सिरहामा चुनावीसभालाई सम्बोधन गर्दै हुनुहुन्छ । उहाँ पछिल्लो हप्ता तराईका जिल्लाहरुमा चुनाबी माहोल बनाउन लागिपर्नु भएको छ । पहिलो र दोस्रो चरणको चुनाबमा नराम्रोसँग हार बेहोरेको माओवादी केन्द्र यसपटक राम्रो नतिजा ल्याउने प्रयासमा जुटेको छ ।

नेकपा एमाले
त्यस्तै प्रमूख प्रतिपक्षी दल नेकपा एमाले पनि सक्रियताका साथ तराईमा खटिएको छ । एमालेका केन्द्रिय नेताहरु प्रदेश २ को चुनाबमा पनि पहिलो र दोस्रो चरणको चुनाब कै नतिजालाई निरन्तरता दिने प्रयासमा जुटेका छन् । एमादलेले पहिलो र दोस्रो चरणको दुबै चुनाबमा सबैभन्दा धेरै स्थानीय तहमा जित हासिल गरेको थियो । अहिले एमाले सचिव प्रदीप ज्ञवाली, योगेश भट्टराई पार्टी रणनीति बनाउन २ नम्बर क्षेत्रमै केन्द्रित हुनुहुन्छ । एमालेलाई मधेश बिरोधीको आरोप लाग्दै आइरहेका बेला उसले भने १ सय २६ स्थानीय तह मध्य ७० बढी सिट जित्ने दाबी गर्दैै आएको छ ।

संघीय समाजवादी फोरम
मधेश र जनजाति केन्द्रित मुद्धा उठाउँदै आएको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि चुनावीसभाका लागि प्रदेश नम्बर २ मै हुनुहुन्छ । मधेशको चुनाबी माहोल आफ्नो पक्षमा बन्दै गएको । सो पार्टीका नेताहरुले बताउँदै आएका छन् ।

राजपा नेपाल 
मधेशको मुख्य हकदार आफूलाई ठान्दै आएको राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव केहि दिन देखि प्रदेश नम्बर दूई मै हुनुहुन्छ । पहिलो र दोस्रो चरणको चुनाब बहिस्कार गरेको राजपा संविधान संशोधन बिधयक फेल भएपछि चुनाबमा जान तयार भएको हो । यो चुनाबलाई राजपाको हैसियत नाप्ने कडीको रुपमा सकेत धेरैले अथ्र्याएका छन् । मधेशको मागलाई लिएर लामो समयदेखि आन्दोलन गर्र्दै आएको राजपाले कति मत पाउला त्यो निकै चासोको बिषय बनेको छ ।

यही असोज २ गते प्रदेश नम्बर २ का ८ जिल्लामा १ सय ३६ स्थानीय तहमा चुनाब हुँदै छ । सबै पार्टीले आफूहले बढी सिट जित्ने दाबी गर्दै आएका छन् ।

यसैबिच दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनको लागि कर्मचारी निर्वाचन केन्द्र पुग्ने क्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।