काठमाडाैं २८ भदाै । मलेसियामा जारी एसीसी यू-१९ पूर्व क्षेत्रिय क्रिकेट छनोट प्रतियोगितामा नेपालले अफ्नो दोस्रो खेलमा शानदार जित हासिल गरेको छ । आज विहान किनरारा ओभल मैदानमा भएको खेलमा नेपालले कप्तान दीपेन्द्रिसंह ऐरीको ५ विकेटको सहयोगमा भुटानलार्इ ५० रनमै समेट्दै सहज जित निकालेको हो । नेपालले पाएको ५१ रनको झिनो लक्ष्य एक विकेटको नोक्सानीमा ८ ओभर ३ बलमा पुरा गर्दै ९ विकेटले जितेको हो ।

टस जितेर पहिले ब्याटिंग गरेको भुटानले २८ ओभरमा सबै विकेट गुमाएर जम्मा ५० रङ जोडेको थियो  । भुटानका तर्फबाट उगेन दोर्जी (१३) र तासी फुन्सो (१६)ले मात्र दोहोरो अंक जोड्न सके ।

नेपालका लागि आक्रामक बलर संदिप लामिछानेले ७ ओभर बलिङ गर्दै ७ रन खर्चेर ४ विकेट लिए भने कप्तान दीपेन्द्रले ८ ओभर बलिङ गर्दै २३ रन दिएर ५ विकेट लिए । यस्तै नन्दन यादवले एक विकेट लिए ।

नेपालले भोलि मलेशियाको क्लव अमानमा सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले यसअघि सोमबार बिहान थाइल्यन्डलाई २ सय ५५ रनको बिशाल अन्तरले जितेको थियो । २ खेल खेलेको नेपालले दुबैमा फराकिलो अन्तरले जित हासिल गरेको छ ।