सिरहा २८ भदौ – सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा आचारसंहिता नमिचिएको दावी गरेका छन्। सिरहाको गोलबजारमा आयोजित माओवादी केन्द्रको चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगले आचारसंहिता उल्लंघन भएको विषयमा चासो राखेको उल्लेख गर्दै मधेसमा चौतर्फी चुनावी उत्साह चलेको बेला बालबालिकादेखि बृद्धसम्म स्वतस्फूर्तरुपमा चुनावमा होमिएको बताएका हुन्।

‘सबैमा चुनावको उत्साह छ, सिंगो मधेस चुनावमय छ, सबैले यो उत्सव मनाइरहेका छन्, बालकदेखि बृद्धसम्मलाई चुनाव लागेको छ’, उनले भने,‘सबै रमाएको बेला कसलाई झण्डा बोक्न रोक्ने? जानी जानी बालबालिकालाई कसैले हिँडाउँदैन।’
बालबालिकादेखि बृद्ध, महिला र पुरुषमा मधेसमा हुने स्थानीय तह निर्वाचनले खुसी ल्याएको बताउँदै प्रचण्डले विगतको अवस्था सम्झिन आग्रह गरे। उनले आफू प्रधानमन्त्री भएको बेला निर्वाचन कल्पनाबाहिरको विषय रहेको स्मरण गर्दै यो चुनावी उत्साहलाई सफलता र खुसीका रुपमा लिनुपर्ने तर्क गरे।

‘मैले आफूले गरेको कामको जस यसरी शान्तिपूर्णरुपमा चुनाव सुनिश्चित हुने अवस्थाबाट पाएको छु, निर्वाचन आयोगले पनि यो उत्साहलाई सफलताका रुपमा लिनुपर्छ’, उनले भने।