झापा । चुनाव प्रचारप्रसारका लागि गृहजिल्ला झापा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली सधैका तुलनामा यसपटक भिन्न रुपमा प्रस्तत भए । ४ दिने झापा बसाइका क्रममा दर्जनौँ कार्यक्रमहरुलाई सम्बोधन गरेका ओली पटक–पटक भावुक बने, आँखाभरी आँशु पनि पारे । नयाँ पत्रिकामा खबर छ ।

कार्यक्रमहरुमा बोलिरहँदा ओलीले भूमिगतकालमा आफू हिँडेका बाटाघाटा सम्झिए । उनलाई खाना पकाएर खान दिने ‘भाउजु’हरु सम्झिए । त्यसबेला ओलीले माया गरेका भाइबहीनीहरुलाई पनि । गृहजिल्ला पुगेर यो शैलीमा ओली बोल्दा ओलीको बोली सुन्नेहरुका पनि आँखा रसाए ।

उनले आफ्नो भूमीगत जीवन र प्रजातन्त्र पुनःस्थापनापछिका आफ्ना राजनीतिक गतिविधि स्मरण गरे । वाम गठबन्धनलाई मत दिएर जिताउन आग्रह गरे । राष्ट्रिय राजनीति हेर्नुपर्ने भएकाले झापा आइरहन नसक्ने उनले मतदातालाई सुनाए । ‘म राष्ट्रिय राजनीति गर्ने मान्छे, मैले देशभरका समस्या हेर्नुपर्छ, विभिन्न जिल्ला पुग्नुपर्छ, मन लागेर पनि आउन भ्याइरहेको छैन, तपाईंहरुलाई नसम्झिएर, वास्ता नगरेर, नआउन खोजेर म यहाँ नआएको होइन, आउन चाहेर पनि आउन नसकेको हो,’ आफ्नो निर्वाचन क्षेत्रका बासिन्दालाई ओलीले यसो भने ।

शुक्रबार झापा पुगेका ओलीले भद्रपुर (क्षेत्र नम्बर–३) र काँकडभिट्टा (क्षेत्र नम्बर–१)मा एक÷एक वटा कार्यक्रममा सहभागिता जनाएपछि आफ्नै निर्वाचन क्षत्र (क्षेत्र नम्बर–५)का १३ वटा कार्यक्रमहरुलाई सम्बोधन गरे । बिहान सबेरैदेखि बेलुका अवेरसम्म उनले भाषण मात्रै गरिरहे । डाक्टरहरुले धेरै धपेडी नगर्नु भने पनि उनी निर्वाचन अभियानमा खटिएका छन् । मञ्चहरुमा ओली बोलिरहँदा कहिल्यै उनमा थकान देखिएन । सधैँ झरिला, फूर्ति र हँसिला देखिने ओली कांग्रेसका बारे प्रशंग निस्किँदा भने ओक्रोशित भएर बोल्थे ।

४ दिनको झापा बसाईका क्रममा ओलीले कुनै मञ्चमा पनि कांग्रेसलाई गाली गर्न भने भुलेनन् । कांग्रेसलाई धोकेवाज, दक्षिणपन्थी, अलोकतान्त्रिक भनिरहने उनले काँकडभिट्टाको कार्यक्रममा त कांग्रेसको गठबन्धनलाई ‘लुटतान्त्रिक गठबन्धन’ नै भनिदिए ।

चुनावी प्रचार कार्यक्रमका लागि देशैभर दौडधुप गर्नुपर्ने भएकाले ओलीले यसपटक आफ्नो निर्वाचन क्षेत्रमा मनग्ये समय दिन सक्दैनन् । त्यसैले झापा बसाईका ४ दिनसम्म उनले तय गरिएका सबै कार्यक्रमहरु विश्राम नगरी भ्याए । त्यसक्रममा उनलाई पानी र औषधि खान पनि सहयोगीहरुले सम्झाइरहनु प¥यो । ओली कार्यक्रमहरुमा निरन्तर बोलिरहे । ‘यो उमेरमा पनि दिनभर मुख नबिसाई भाषण गर्ने तागत कसरी आउन सकेको, पानीबाहेक अरुथोक खाएको पनि केही देखिँदैन,’ ओलीको भाषण सुन्न पुगेकी एक बृद्धा भन्दै थिइन् ।

ओलीको सुन्दर कप

ओलीसँग सधैँ एउटा सुन्दर र आकर्षक कप हुन्छ । ओली देशका जुन कुनामा पुगे पनि उनका सहयोगीले एउटा थरमस, त्यो कप र औषधि बोक्न छुटाउँदैनन् । जब ओली मञ्चमा बोल्न थाल्छन्, सहयोगीले बिर्को खोल्न र बन्द गर्न मिल्ने उक्त कपमा मनतातो पानी लगेर राखिदिन्छन् । ओली तातोपानी, औषधि खाँदै आफ्नो मन्तव्य राखिरहेका हुन्छन् । गृहजिल्लाका बासिन्दाले ओलीको पानी पिउने यो कप औधि मन पराउँछन् । ओली झापा आएपिच्छे यही कपको चर्चा चलिरहन्छ ।

चियाको स्वाद

२४ गते गृहजिल्ला टेकेका ओलीले २६ गते एउटा अनौठो रहर गरे । अध्यक्ष ओली चुनावी प्रचार अभियानका क्रममा आफ्नो निर्वाचन क्षेत्रमा दौडिरहँदा एक्कासी एउटा चियापसल सम्झिए । उनले खजुरगाछीको उक्त चिया पसलमा जसरी पनि पुग्ने इच्छा गरे । ‘२०२५ सालतिर भूमिगत कालमा उहाँले त्यो चिया पसलमा बसेर धेरैपटक चिया पिउनुभएको रहेछ,’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने ।

ओली चिया पसल पुगेर बाहिर राखेको मुढामा बसे । र, चिया पिए । बाहिरफेर खासै केही नखाने ओलीले त्यहाँ चिया पिउने इच्छा गरेपछि सहयोगीले पनि रोकेनन् । चिया पिउँदै गर्दा पुरानो स्वादसँग तुलना गर्दै उनले भने, ‘पहिलाको चियाको स्वाद त ६० प्रतिशत मात्रै बाँकी रहेछ नि !’ भूमिगत कालमा उनले परम्परागत सिसाको ग्लासमा चिया पिएका थिए । यसपटक प्लास्टिकको ग्लास प¥यो । चिया पिउने मेसो मिलाइदिएका थिए, स्थानीय जयनारायण साहले । चिया पिइसकेर ओलीले साहलाई धन्यवाद पनि दिए ।

निर्वाचन अभियानमा व्यस्त रहेकै बेला सोही दिन ओलीले अर्को एउटा आकस्मिक यात्रा तय गरे । उनी गौरीगन्ज–५ स्थित चिलारा टोलमा रहेको ताजपुरिया बस्ती पुगे । अध्यक्ष ओलीलाई ९ वर्षदेखि खाना बनाएर खुवाउँदै आएका सहयोगी गोबिन्द ताजपुरीयाको घर थियो त्यहाँ । गौरीगञ्जबाट तीन किलोमिटर दक्षिण पश्चिममा रहेको चिलारामा साँझ ६ः२५ बजे पुगेका ओली झन्डै २० मिनेट त्यहाँ बसे । ओली २ गते पुनः झापा फर्किने गरी मंगलबार दिउँसो राजधानी फर्कंदैछन् ।