गोरखा । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै गोरखा २ मा पूर्वसहयात्री डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पछिल्ला दिन मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलो र चुनावीसभालाई आक्रामकरुपमा अघि बढाइरहनु भएको छ ।

कुनै बेलाका पूर्वमाओवादी उपाध्यक्ष रहनुभएका डा भट्टराई र सहयात्री श्रेष्ठ कात्तिक ५ गते मनोनयन दर्ता गर्नुभएपछि एकअर्काविरुद्ध प्रतिस्पर्धामा उत्रिनुभएको मात्र छैन ‘जोगी देखेर भैँसी डराउने, भैँसी देखेर जोगी डराउने’ भनेजस्तै पराजित हुने हो कि भन्ने डर र चिन्तामा पनि हुनुहुन्छ ।

एकअर्काविरुद्ध व्यक्तिगत रिसइबी तथा तिक्तता नभएको बताउनुभए पनि उहाँहरुबीच चर्को तिक्तताले घर गरेको चुनावीसभा र घरदैलोमा गरेका भाषण र अभिव्यक्तिले देखाउँछ । एकले अर्कोको अस्तित्व अस्वीकार गर्दै दुवै प्रभावशाली नेताले आफू विकासप्रेमी भएको दाबी गरिरहनु भएको छ ।

डा भट्टराई र श्रेष्ठका भाषण सुन्दा एकले अर्कोलाई निषेध गर्ने ढंगका आरोप–प्रत्यारोप गरिएको सुनिन्छ । जनताले डा भट्टराई र श्रेष्ठ दुवै जिल्ला र देशलाई आवश्यक पर्ने नेता भएको प्रतिक्रिया दिए पनि नेताहरु एकअर्काविरुद्ध खनिएका छन् । जनताले कसलाई विकासवादी र भोलि पनि चाहिने नेता बनाउँछन् त्यो हेर्न महिना दिन धैर्य गर्नुपर्नेछ । डा भट्टराई र श्रेष्ठ दुई विपरीत धु्रवको प्रतिनिधित्व गर्दै चुनावी तालमेलमा रमाउनुभएको छ ।

देशका दुई वटा शक्ति नेपाली काँग्रेस र नेकपा ९एमाले०ले क्रमशः समाजवाद र साम्यवादको धार लिएको देखिन्छ । आखिरमा देशमा दुई शक्तिको दबदबा रहेको यसपटकको गठबन्धनले देखाएको छ । काँग्रेसले प्रतिनिधित्व गरेको लोकतान्त्रिक धु्रवमा राप्रपालगायतका दल चुनावी गठबन्धनमा छन् भने एमालेले प्रतिनिधित्व गरेको धु्रवमा नेकपा माओवादी केन्द्रलगायतका शक्ति अटाएका छन् ।

1

गोरखा २ चर्चाको शिखरमा हुनाको अर्को कारण पनि छ । सशस्त्र द्वन्द्वको नेतृत्वमा रहनुभएका डा भट्टराई त्यसबेला द्वन्द्वरत माओवादीलाई दबाउन खोज्ने नेपाली काँग्रेसको साझा उम्मेदवार बनेर अगाडि आउनुभएको छ भने जनयुद्ध धोका हो, फाँसीवादी क्रियाकलाप हो भन्दै सशस्त्र द्वन्द्वमा नजानुभएका नारायणकाजी श्रेष्ठ सशस्त्र द्वन्द्व छेडेको माओवादी पार्टी र द्वन्द्वकै कटुआलोचक एमालेको साझा उम्मेदवार बन्नुभएको छ ।

द्वन्द्वमा राज्यपक्ष वा तत्कालीन विद्रोही शक्ति माओवादीबाट हत्या गरिएकाको शहिद परिवार, घाइते, अपांगता भएका अहिले धर्मसंकटमा छन् । काँग्रेस निकटका द्वन्द्वपीडितले पत्रकार सम्मेलन गरी मुख खोलिसकेका छन् कि सशस्त्र द्वन्द्वका नेतृत्वकर्तासमेत रहनुभएका भट्टराईलाई भोट दिन सक्दैनौँ भनेर । माओवादीभित्रका द्वन्द्वपीडितको पनि अवस्था उस्तै छ – हिजो ‘जनयुद्ध’ धोका ठान्ने श्रेष्ठलाई पार्टीको ह्वीपअनुसार भोट दिने कि नदिने ।

चुनावका हरेक सभामा एउटा पार्टी छाडेर अर्को पार्टीमा प्रवेश गरेको दृश्य रोचक देखिन्छ । कोही त कार्यक्रम गरेपिच्छे पार्टी परिवर्तन गर्छन्, शीर्ष नेताको हातबाट अबीर लगाउँछन् । प्रायः स्वार्थी चुनावपिच्छे पार्टी परिवर्तन गरिरहेका हुन्छन् । डा भट्टराई र श्रेष्ठको प्रायः सबैजसो कार्यक्रममा एक÷दुई जना पार्टी प्रवेश गरिरहेकै हुन्छन् । कहिले नयाँ शक्ति छाडेर माओवादीमा, कहिले माओवादी छाडेर नयाँ शक्तिमा त कहिले काँग्रेस छाडेर एमाले, एमाले छाडेर काँग्रेस ।

एघार वटा स्थानीय तह रहेको गोरखामा नौ वटा तहको प्रमुख पद काँग्रेसले जितेको छ । त्यस बेला गोरखामा शान्त चुनाव भएको थियो । झडप भएन । कुटपिट गर्न नसक्दा आफ्नो पार्टीले हार व्यहोर्नुपरेको समीक्षा गरेका दलले यसपटक झडप गर्ने, जिल्ला बाहिर रहेका मतदातामा त्रास फैलाउने गतिविधिको छनक दिइरहेका छन् ।

दलले सामाजिक सञ्जाल ‘फेसबुक’ तथा ‘ट्वीटर’बाट चुनावी प्रचारलाई व्यापक बनाएका छन् । विभिन्न प्रकृतिका ब्लग खोलेर झूठा, भ्रमपूर्ण समाचार एकअर्काविरुद्ध हुनेगरी पोस्ट गरे पनि अनुगमन गर्ने निकाय मौन छ । उम्मेदवारका भाषण सामाजिक सञ्जालमा पोस्ट गरिएका छन् ।

चुनाव भट्टराई वा श्रेष्ठ कसको पक्षमा आउँछ भन्नसक्ने एउटा आधार पनि छैन । चुनावमा को बलियो भनेर गत स्थानीय तहमा आएको दलको भोट हिसाब गर्ने गरिएको छ । यस आधारमा नेपाली काँग्रेस, नयाँ शक्ति, राप्रपाका साझा उम्मेदवार लोकतान्त्रिक गठबन्धनको मत गोरखा २ मा २४ हजार ९६५ पुग्छ जुन वाम गठबन्धनको भन्दा १५८ मत बढी हो ।

स्थानीय तह निर्वाचनपछि थपिएका १८ हजार गोरखाली मतदाताले कसको पल्ला भारी गर्छन् त्यो हेर्न बाँकी छ । डा भट्टराईले आफू अर्थमन्त्री र प्रधानमन्त्री रहँदा राज्यको बजेट परिचालन गरी बनाएका पुल, बाटो, खानेपानीलगायतका योजना विकासको जग भएको दाबी गर्दै मतदातासँग भोट मागिरहनुभएको छ । श्रेष्ठले त्यो विकास निर्माणका कार्य भट्टराई व्यक्तिले होइन माओवादी पार्टीले गरेको हो भन्ने तर्क गरिरहनुभएको छ ।
डा भट्टराईले ‘श्रेष्ठ माओवादी नै होइनन्’ सम्म भन्नुभएको छ भने श्रेष्ठले समृद्धिको नारा दिने नयाँ शक्तिका संयोजक डा भट्टराई ‘सिन्को पनि भाँच्दैनन्’ भनिसक्नुभएको छ । आरोप–प्रत्यारोप कहाँसम्म पुगेको छ भन्ने अन्दाज यहीँबाट लगाउन सकिन्छ । दुवै नेताले जनतासँग भोट माग्न अनेक उपाय लगाएका छन् । जितका लागि भट्टराईलाई काँग्रेसका कार्यकर्ता इमान्दार हुनुपर्नेछ भने श्रेष्ठका लागि एमालेका कार्यकर्ताको भर ।

डा भट्टराई विसं २०७० को निर्वाचनमा रुपन्देहीमा एमाले नेता विष्णु पौडेलसँग पराजित हुनु भएको थियो भने श्रेष्ठ मकवानपुरमा पराजित हुनुभएको थियो । भट्टराई र श्रेष्ठ दुवै संसद्मा आवश्यक पर्ने नेता भए पनि एकअर्काविरुद्ध प्रतिस्पर्धामा उत्रिएपछि गोरखाका मतदाता निराश छन् ।

मतदाता फकाउन डा भट्टराईले भविष्यमा काँग्रेससँग एकता पनि हुनसक्ने बताइसक्नुभएको छ । यस्तै, श्रेष्ठले झुक्किएर बाबुरामजीले जित्नुभयो भने पनि स्वतन्त्र सांसद मात्रै हुने हो, संसद्मा हस्तक्षेप गर्न सक्ने हैसियत राख्दैनन् भन्ने कुरा मतदातासामु राखिसक्नुभएको छ । भट्टराई वा श्रेष्ठमध्ये कसले चुनाव जित्छन् भन्ने उत्सुकता जिल्लाभित्र र बाहिर पनि उत्तिकै रहेको देखिन्छ ।