काठमाडौं ।  प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदाताले तीनवटा मतपत्रमा मतदान गर्नुपर्नेछ । तीनवटै मतपत्र फरक–फरक छन् । मतदाताले यी तीन मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नुपर्नेछ । निर्वाचन आयोगका अनुसार सबैभन्दा पहिला प्रतिनिधिसभा सदस्यका लागि मत हाल्न मतदाताले हरियो रङको मतपत्र प्राप्त गर्नेछन् । सो मतपत्रमा आफूले रोजेको उम्मेदवारको चिह्नमा छाप लगाएर मतपेटिकामा खसालेपछि मतदाताले कालो रङको मतपत्र प्राप्त गर्नेछन् । यो मतपत्र प्रदेश सभा सदस्य चयन गर्नका लागि हो ।

आफूले रोजेको उम्मेदवारको चिह्नमा छाप लगाएर कालो रङको मतपत्रलाई मतपेटिकामा खसालेपछि मतदाताले रातो रङको मतपत्र प्राप्त गर्नेछन् । रातो रङको मतपत्र समानुपातिकतर्फ मतदान गर्नका लागि हो । यस मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभाका लागि दलको निर्वाचन चिह्न समावेश हुनेछ । सोही पानाको तल्लो भागमा प्रदेशसभातर्फका दलको निर्वाचन चिह्न समावेश हुनेछ । दलहरूले एउटै पानामा प्रतिनिधिसभा र प्रदेश सभातर्फ आफूले रोजेको दलको चुनाव चिह्नमा समानुपातिक मत खसाल्नेछन् । यसरी तीनवटा मतपत्रमार्फत चारपटक मतदान गर्नुपर्नेछ ।

१० मंसिरमा पहिलो चरणमा हुने निर्वाचनका लागि ३२ जिल्लामा २ हजार ९१९ मतदानस्थलअन्तर्गत ४ हजार ४६५ मतदान केन्द्र तोकिएका छन् । ती मतदान केन्द्रबाट ३१ लाख ९१ हजार ९४५ मतदाताले मतदान गर्न पाउनेछन् ।

मतगणना कहिले ?
पहिलो चरणमा निर्वाचन हुने जिल्लाको मतगणना पनि २१ मंसिरबाट सुरु गरिनेछ । निर्वाचन आयोगका अनुसार १० मंसिरको निर्वाचनपछि सुरक्षित राखिएका ३२ जिल्लाका मतपेटिकालाई २१ मंसिरमा दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि एकैपटक गणनाका लागि खोलिनेछ ।

मतपेटिकाको सुरक्षा कसरी
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका राखिनेछ । मतपेटिकाको सुरक्षाको सम्पूर्ण व्यवस्थापन मुुख्य निर्वाचन अधिकृतले गर्नेछन् । मतपेटिकाको सुरक्षाका लागि राजनीतिक दलका प्रतिनिधि पनि खटिनेछन् । ‘मतपेटिका दलहरूका प्रतिनिधिहरूको रोहबरमै रहने गरी व्यवस्था गरिनेछ,’ प्रवक्ता नवराज ढकालले भने, ‘हिमाली क्षेत्रका मतदान केन्द्रबाट हेलिकोप्टरमार्फत मतपेटिका संकलन गर्नुपर्ने भएका कारण हेलिकोप्टरमा दलका कतिजना प्रतिनिधि अटाउँछन्, त्यतिलाई नै राखेर ल्याइने व्यवस्था गरिनेछ ।’

दलहरू के भन्छन् ?
वाम गठबन्धनका नेताहरूले मतपेटिकाको सुरक्षाबारे आयोगसँग चासो राखेका छन् । आयुक्तहरूसँगको भेटमा बिहीबार नेतताहरूले सुरक्षाकर्मीको साथमा दलका प्रतिनिधिलाई समेत मतपेटिकाको सुरक्षार्थ राख्नुपर्ने बताएका थिए । आयोगले वाम गठबन्धनको चासोलाई गम्भीरतापूर्वक लिने जनाएको छ । ‘मतपेटिकाको सुरक्षा प्राविधिक विषय भए पनि दलहरूका लागि विश्वासको वातावरण बनाउनुपर्ने हुन्छ,’ आयुक्त नरेन्द्र दाहालले भने ।

मुुुुख्य निर्वाचन अधिकृतले तोकेकोे स्थानमा सुरक्षित साथ मतपेटिका राखिने भएकाले आयोगको निर्णयमा सहयोग पुर्याउनुपर्ने कांग्रेस नेता बालकृष्ण खाणको भनाइ छ । खाणले मतपेटिका राखेको ठाउँमा दलहरूले छुट्टाछुट्टै ताल्चा लगाउन आवश्यक नभएको बताएका छन् । नयाँपत्रिकाबाट