काठमाडौ । सर्वत्र विवादमा रहेको सञ्जय लीला भंसालीद्वारा निर्देशित चलचित्र पद्‍मावतीले सेन्सर बोर्डबाट पर्दशनमा ल्याउन अनुमति पाएको छ।

पद्मावति पुर्व योजना अनुसार डिसेम्बर १० तारिखमा रिलिज हुने भनिएपनि रानी पद्मावतिको कथालाई फिल्ममा गलत तरीकाले राखेको भन्दै करणी सेनाले विरोध गर्दै आएको थियो । भारतमा महिनौंसम्म चलेको विवाद, विरोध प्रदर्शन, राजनीतिक टीकाटिप्पणी र प्रदर्शन गर्ने मिति सारेपछि अन्ततः  सेन्सर बोर्डले नाम परिवर्तन गरेर पद्‍मावत राख्न सुझाव दिएको छ। तर अझै पनि यसको विवाद भने टुंगिएको छैन ।

पद्‍मावतीको वंशज र राजपरिवारसँग सम्बन्धित अन्य ६ जनालाई पनि सेन्सर बोर्डले उक्त चलचित्र देखाएको छ, उनीहरुको राय लिएर मात्रै करणी सेनाले भावी कदम चाल्ने बताइएको छ । भायकम १८ मोशन पिक्चर्सद्वारा निर्मित उक्त चलचित्रलाई लिएर सेन्सर बोर्डले गरेको निर्णय लाई लिएर आलोचना भइरहेको छ । पछिल्लो समयमा ट्वीटर प्रयोगकर्ताले सेन्सर बोर्डको प्रस्तावमाथि प्रश्न उठाएका छन् ।

प्रदर्शनकारीहरुले उक्त चलचित्रमा महारानी पद्‍मावतीसँग सम्बन्धित ऐतिहासिक तथ्यलाई तोडमोड गरेर प्रस्तुत गरिएको दाबी गर्दै आएका छन्।