खोटाङ र उदयपुरको सीमा नाका बन्द

खोटाङ – कोरोना भाइरसको सङ्क्रमित भेटिएको उदयपुर जिल्लासँग सिमाना जोडिएको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नाकामा हुने आवतजावतमा रोक लगाएको छ । छिमेकी जिल्लासँगै एक वडाबाट अर्को वडामा ओहोरदोहोर गर्नसमेत रोक लगाउन सबै वडालाई पत्राचार गरिएको नगरप्रमुख इवन राईले बताए ।

दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म गरिएको र्यापिड डायग्नोष्टिक टेष्टमा सबै ९२ जनाको रिर्पोट नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए । र्यापिड डायग्नोष्टिक टेष्टमा नेगेटिभ रिर्पोट देखिएका हलेसी तुवाचुङ नगरपालिकाका पाँच र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तीन जनाको पिसीआर टेष्ट गर्न नमूना सङ्कलन गरेर कोशी अस्पताल विराटनगर पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले १२० वटा किट पठाएपछि विदेशबाट घर फर्किएका जिल्लाका १२० व्यक्तिको पहिलो चरणमा र्यापिड डायग्नोष्टिक टेष्ट शुरु गरिएको जनाइएको छ । चैतयता विदेशबाट फर्किनेको सङ्ख्या अधिक रहेकाले थप किट तत्काल पठाउन सङ्घ तथा प्रदेश सरकारसमक्ष माग गरिएको जनाइएको छ । तीन सय चार श्ययाको क्वारेन्टाइन र १३ श्ययाको आइसोलेसन वार्ड रहेको जिल्लामा अहिलेसम्ममा क्वारेन्टाइन बस्नेको सङ्ख्या ९७ पुगेको छ ।

प्रकाशित : बुधबार, बैशाख १०, २०७७०३:१३

कोरोनाका कारण बेलायतमा १८ नेपालीको मृत्यु !