रक्तदान गर्ने युवा बढ्दै

अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान भएकाले पछिल्ला वर्षमा यसप्रति युवा पुस्तामा जागरुकता देखिएको छ । पोखरामा चार दशकअघि रगत सङ्कलन तथा वितरण गर्ने उद्देश्यले रक्तसञ्चार केन्द्र स्थापना भएसँगै पछिल्ला वर्षमा रक्तदान गर्नेको सङ्ख्या बढ्दै गएको छ ।

विसं २०३५ असार २ गते पोखरामा रक्तसञ्चार केन्द्र स्थापना भएको क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराका प्रमुख ध्रुवमणि लामिछानेले जानकारी दिनुभयो । पहिला रक्तदानप्रति सर्वसाधारणमा जानकारी नभएकै कारण रगत दिनेको सङ्ख्या कम थियो । तर, पछिल्ला वर्षमा भने यसप्रतिको सचेतनाले रक्तदाता बढ्दै गएको उहाँले बताउनुभयो ।

केन्द्रबाट अघिल्लो आव २०७५÷७६ मा १७ हजार ३६१ युनिट रगत वितरण भएको छ । केन्द्रअन्तर्गत पोखरामा गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा छुट्टै रक्त सङ्कलन एकाइ पनि छन् । पछिल्ला तीन आवको तथ्याङ्कअनुसार केन्द्रमार्फत आव २०७३÷७४, ०७४÷७५ र ०७५÷७६ मा क्रमशः १३ हजार ३४७, १३ हजार २८९ र १६ हजार २९२ युनिट रगत सङ्कलन भएको थियो । तीनवटै आवमा केन्द्रबाट क्रमशः १८ हजार २७३, १५ हजार ७३ र १७ हजार ३६१ युनिट रगत वितरण गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रले आफ्नो वार्षिक कार्यक्रममार्फत रक्तदानप्रतिको विविध चेतनामूलक कार्यक्रम बढाइरहेको र प्रभाकारिता क्रमशः बढेको छ । उहाँका अनुसार नेपालमा बर्षेनी तीन लाख युनिट रगत वितरण हुने गरेको छ ।

नेपालमा २००० सालदेखि रक्तदान कार्यको शुरुआत भएको हो । रक्तदान भएको २३ वर्षपछि मात्रै २०२३ साल साउन १२ गते लक्ष्मी ब्लड बैंकका नाममा वीर अस्पताल नजीकैको घरमा नेपाल रेडक्रस सोसाइटीमार्फत रक्तसञ्चार सेवाको शुरुआत गरिएको हो । समाजेवी दयावीरसिंह कंसाकारलाई नेपालका पहिलो रक्तदाता मानिन्छ ।

विशेषगरी प्राकृतिक प्रकोप, बाढी, पहिरो र भूकम्पजन्य विपत्तिमा यसको अत्यधिक माग हुने गर्दछ । नवीनतम् प्रविधिको विकासमा चमत्कार जस्तै भइसके पनि कृत्रिम रुपमा रगत बनाउने प्रविधिको विकास भने अझै भएको छैन । रगतकै कारण शरीरमा पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन पु¥याउनाका साथै रोगसँग लड्न सक्ने क्षमताको विकास लगायतका धेरै काम गर्दछ ।

स्वस्थ शरीर भएका कम्तीमा १८ वर्ष पूरा भई ६५ वर्ष ननाघेका व्यक्तिले रक्तदान गर्न सक्ने ६६ औँ पटकसम्म रक्तदान गर्नुभएका पोखरा न्युरोडका जितेन्द्रमान शाक्यले बताउनुभयो । “रक्तदान गरेर कमजोर भइन्छ भन्ने धारणा गलत हो”, नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्षसमेत रहनुभएका शाक्यले भन्नुभयो, “मैले प्रत्येक पटकको रक्तदानको १० मिनेटपछि ५० देखि १०० किलोमिटरसम्म साइक्लिङ गर्ने गरेको छु ।”

आफ्नो ६२औँ रक्तदानका क्रममा २०७५ साल जेठ १६ गते केन्द्रीय रक्तसञ्चार केन्द्रमा रक्तदान गरी लगत्तै एक सय किलोमिटर साइक्लिङ र भोटेकोशीमा बञ्जीजम्प गरेको अनुभव उहाँले सुनाउँनुभयो । अरूका लागि जीवनदान र आफ्नो स्वास्थ्यका लागि पनि बहुउपयोगी हुने भएकाले उहाँले रक्तदान गर्न सबैसँग आग्रह गर्नुभयो ।

अधिक रक्तस्रावका बिरामी, प्रसूति, मुटु–मस्तिष्क लगायतको शल्यक्रिया र दुर्घटनामा परेकालाई बचाउन रगत अनिवार्य हुन्छ । रक्तक्यान्सर, रक्तअल्पत्ता लगायतका समस्यामा त रगत निरन्तर चाहिने हुन्छ । समयसमयमा रगतको अभाव भएका समाचार आइरहँदा विभिन्न सङ्घसंस्थाले आकस्मिक रक्तदान पनि गर्ने गरेका छन् ।

रगतको अभाव भएका समयमा पोखरामा आकस्मिक रक्तदान एकाइका साथै स्वयंसेवी रक्तदाता समाज, दारी ग्याङ जस्ता संस्था क्रियाशील हुने गरेका छन् । पोखरास्थित आकस्मिक रक्तदान युनिटले आवश्यकताका आधारमा आकस्मिक रक्तदानको व्यवस्था मिलाउँदै आएको युनिटका व्यवस्थापक हरिश्चन्द्र शर्माले बताउनुभयो ।

युनिटमा हाल ३७२ जना रक्तदाता आबद्ध भएको जानकारी दिँदै उहाँले ती रक्तदाताले खुल्ला नभई आवश्यकता र आकस्मिकताका आधारमा रगत दिने गरेको बताउनुभयो । रक्तदान गर्न योग्य मानिसको शरीरमा सामान्यतः चारदेखि पाँच लिटरसम्म रगत हुने र एक पटक रक्तदान गर्दा ३५० देखि ४५० मिलीलिटर मात्र रगत दिइने हुँदा त्यसले रक्तदातालाई कुनै किसिमको असर नगर्ने शर्माको भनाइ छ ।
वासुदेव पौडेल

प्रकाशित : शनिबार, पुष २६, २०७६१६:४९

पर्यटनमन्त्री पशुपतिमा आठ घण्टा