काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचमा सीमा विवादलाई लिएर उत्पन्न असमझरादी हटेको बताएका छन्। बिबिसी हिन्दीलाई हालै दिएको अन्तरवार्तामा उनले यस्तो बताएका हुन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
नेपाल र भारतबीच कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभाग भारतले अतिक्रमण गरेको र उक्त भूभाग आफ्नो नक्सामा प्रकाशित गरेको विषयलाई लिएर असमझदारी सुरु भएको थियो। उक्त भूभागलाई दुवै मुलुकले आ–आफ्नो नक्सामा प्रकाशित गरे पनि सम्वादबाट समस्याको समाधान गर्ने प्रक्रिया भने अझैसम्म पनि बढ्न सकेको छैन।
प्रधानमन्त्री ओलीले अन्तरवार्तामा दुइ देशबीचमा कुनै बेला असमझदारी उत्पन्न भएको तर अहिले त्यो असमझदारी हटिसकेको बताएका छन्। उनले कुनै बेला असमझदारी थियो भनेर त्यसैमा अल्झिरहन नहुने पनि बताएका छन्। ‘हामीले भविष्यतर्फ हेर्नुपर्छ र अघि बढ्नुपर्छ,’ उनले भने।
ओलीले छिमेकीबीच समस्या हुने बताएका छन्। ‘चिली वा अर्जेन्टिनाका सेनासँग न तपाईको प्रेम हुन्छ न घृणा। किनभने हामी त्यहाँ जाँदैनौँ र उनीहरू यहाँ पनि आउँदैनन्। जब छिमेकीको कुरा हुन्छ त्यहाँ प्रेम र समस्या भइरहन्छन्,’ उनले भनेका छन्।
महामारीका बेला भारतले नेपाललाई गरेको सहयोगबारे बोल्दै उनले अफूलाई नकारात्मक कुरा गर्न मन नपर्ने तर अदालतको फैसला वा खोपको कमीको कारण भारतबाट जति सहयोग मिल्नुपर्ने हो त्यो नमिलरहेको बताए। ‘एक छिमेकी जसको सम्बन्ध यसरी जोडिएको छ कि भारतमा कोरोना नियन्त्रणमा आयो र नेपालमा आएन भने भारतमा नियन्त्रणमा हुनुले कुनै अर्थ राख्दैन। किनभने जो स्थानियसी उनीहरूको रहने बस्ने साथमै हुन्छ। त्यसैले हामीलाई मद्दत गर्नै पर्छ। त्यो भारतको पनि हितमा हुन्छ,’ उनले भनेका छन्।

