काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल र बोर्ड सदस्य राजेश गुरुङ्गमाथि संगिन आरोप लगाएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री दिपक मनाङ्गे विवादमा तानिएका छन् । प्रदेश सरकार गठनमा किंगमेकर बनेर चर्चामा आएका मनाङ्गेले राखेप सदस्य सचिव सिलवाल र गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने बोर्ड सदस्य गुरुङ्गमाथि राजनीतिक र नैतिक पतन देखिने गम्भिर आरोप लगाएका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
उनले बोर्ड सदस्य गुरुङ्गमाथि आर्थिक अनियमितताको गम्भिर आरोप लगाउँदै त्यसमा सदस्य सचिव मतियार बनेको दाबी गरेका छन् । त्यस भन्दा अघि बढेर मनाङ्गले सदस्य सचिव सिलवालको नीजि मामिलामा हस्तक्षप गर्दै नैतिक पतनको आरोप लगाएका छन् । विवादस्पद अभिब्यक्तिपछि राखेपले बिज्ञप्ती निकालेर मनाङ्गेको अमर्यादित, अशोभनिय लान्छना एवं घोर निन्दनीय अभिब्यक्तिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । राखेपले मनाङ्गेको अभिब्यक्तिले खेल जगतको अपमान भएको बताउँदै दोषी उपर प्रचलित कानुन बमोजिम कारबाही गर्न माग गरेको छ ।
यस्तै, अर्का राखेप बोर्ड सदस्य गोबिन्द भट्टराईले समेत सार्वजनीक रुपमा प्रदेश मन्त्रीको भनाई अत्यन्त गैर जिम्मेवार र असामाजिक भएको बताएका छन् । उनले पोखरा रंगशाला र नेतृत्वको कार्यशैलीप्रति बिमती रहेपनि मनाङ्गेको धारणा खेदजन्य रहेको प्रतिक्रिया दिएका छन् । बोर्ड सदस्य राजेश गुरुङ्गले समेत समाजिक सञ्जालमार्फत मनाङ्गको भनाईप्रति गम्भिर आपत्ती जनाउँदै आफुमाथि लगाएका आरोप प्रमाण सहित पेश गर्न चुनौती दिएका छन् ।
एमाले नेता पृथ्वी सुब्बा गुरुङ्ग नेतृत्वको सरकारमा मनाङ्गे खेलकुद मन्त्री बनेका थिए । करिब हप्ता दिन मन्त्री बनेका उनले प्रदेश खेलकुदमा ठुलो भ्रष्टाचार हुने गरेको दाबी गर्दै आएका छन् । एमाले नेतृत्वको सरकार संसद विघटनतर्फ अग्रसर भएको आरोप सहित मनाङ्गे कांग्रेस नेतृत्वको सरकार निर्माणमा सामेल भएका थिए । नयाँ सरकार गठनमा किंगमेकर बनेका उनले भौतिक पूर्वाधार जस्तो शक्तिशाली मन्त्रालय प्राप्त गरेको छन् ।

