सोझासाझा सिधा ग्राहकलाई मुर्गा बनाउँदै बैंक अफ काठमाण्डु !

काठमाडौं । सोझासाझा सिधा ग्राहकलाई मुर्गा बनाई कर्जा प्रवाह गर्ने र कर्जा प्रवाह गरिसकेपछि पनि कर्जा बाँकी छ भनेर ग्राहकलाई दुःख दिने बैंकका रूपमा बैंक अफ काठमाण्डु (बीओके) चिनिन थालेको छ । सुरुमा ९ प्रतिशतमा कर्जा दिन्छौं भनी लोभ दिएको बीओकेले सम्झौता गर्ने बेलामा भने १३ प्रतिशत पुर्याएर मध्यमवर्गका ग्राहकलाई बढी ब्याज असुलेको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

यस्तै बैंकको चंगुलमा फस्नेमा पर्छन्, मोरङ उर्लाबारीका निलमणि कालाखेती । उनले सात वर्षअगाडि १० लाख रुपैयाँ व्यक्तिगत कर्जा लिएका थिए ।

घरधितो राखेर वा पसल धितो राखेर व्यवसाय कर्जा लिन खोजेका कालाखेतीलाई अनेक प्रलोभन देखाई ललाइफकाइ व्यवसाय कर्जाभन्दा पनि व्यक्तिगत कर्जा लिनमा सहमत गराएको उनका श्रीमती सीता भट्टराईले राजधानी दैनिकलाई बताइन् ।

९ प्रतिशतमा कर्जा पाउने भएपछि अर्को बैंकमा प्रक्रिया रोकेका कालाखेती परिवार तब झस्किए जब कर्जा लिने बेलामा ११ प्रतिशत ब्याज हुने भनियो । लौ त अब के गर्ने भनेर हार मानेर कर्जा लिन सहमत भएका कालाखेतीले कर्जाको कागजमा १३ प्रतिशत ब्याजदर हुने कुरा हस्ताक्षर गरी प्रक्रिया पु-याइसकेपछि मात्र थाहा पाएको बताए ।

लौ त ठिकै छ भनेर ८४ किस्तामा मासिक १७ हजार ९ सय २१ तिरेपछि कर्जा चुक्ता हुन्छ भनेर ढुक्क भएका कालाखेती परिवार कर्जा लिएको सात वर्षपछि पुनः ठगिएको भन्दै बिलौना गर्न थालेका छन् ।

कर्जाको किस्ता एकचोटि पनि नटुटाइकन अझ किस्ता तिर्नकै लागि साथीभाइसँग सापटी वा ऋण गरेर तिरेको सीता भट्टराइले बताइन् ।

८४ किस्ता तिरिसकेपछि अब कर्जामुक्त भएको ठानेका निलमणि कालाखेती तब झस्किए जब सबै किस्ता तिरिसक्दा पनि अझै १ लाख ५५ हजार कर्जा बाँकी रहेको भनेर बैंकले जानकारी दियो ।

सात वर्षमा ८४ किस्ता गन्दै बसेका उनीहरूलाई बीओके बैंकले भन्यो, भन्ने मात्र सात वर्ष हो । कर्जा तिर्दै जाँदा आठ वर्ष पनि लाग्छ ।कागजमा पनि ९ प्रतिशत भनेर १३ प्रतिशत पु-याएको बीओके बैंकले किस्ता पनि ८४ लेखेर लम्ब्याएर दुःख दिएको कालाखेती परिवारले बताए ।

बैंकहरूले ऋणीलाई मात्र हैन निक्षेपकर्ता पनि महँगो ब्याजदरमा निक्षेप गर्न लगाएर खबर नै नगरी ब्याजदर घटाइ दिने गरेको पुरानो प्रथा हो । ठगिएको जानकारी नै नहुने गरी बैंकहरूले झुक्याइसकेको हुन्छ ।

आज एउटा दर कायम गरेर ब्याज लिने र त्यसको ब्याज दर भोलिपल्ट नै बिना जानकारी ऋणको ब्याजदर बढाइदिन्छन् । बैंकले ऋणीहरूको ब्याजदर लगातार यसैगरी खबर नगरीकन वृद्धि गरिरहेका हुन्छन् । ऋणीले निश्चित समयमा ऋण तिर्नेगरी कर्जा लिएका हुन्छन्, एउटा कबुलमा महिनैपिच्छे ब्याजदर तिर्छ तर उसले सोचेजस्तो हुँदैन र पटकपटक ब्याजदर बढिरहन्छ ।

प्रकाशित : शनिबार, फागुन २१, २०७८०७:५१

रोकिएन सुन तस्करी, कर्मचारीकै मिलेमतो !