एजेन्सी – रियल म्याड्रिडसँग हारे बेहोरेर च्याम्पियन्स लिगबाट बाहिरिएसँगै पेरिस सेन्ट जर्मेन(पिएसजी)का खेलाडीहरुको मनोबल खस्किएको छ। पहिलो लेगमा जित निकालेपनि दोस्रो लेगमा अप्रत्याशित हार बेहोर्दै च्याम्पियन्स लिगबाट बाहिरिएपछि पिएसजीका खेलाडीहरुको मनिबल खस्किएको हो।
च्याम्पियन्स लिगमा बेहोरेको हारलाई पिएसजीका खेलाडीहरुले भुल्न सकिरहेका छैनन्। पिएसजीका खेलाडीहरुलाई सो हारले कति प्रभाव पारिरहेको छ भन्नेकुरा मोनाको विरुद्धको खेलमा देख्न मिल्यो।
अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीबिना उत्रिएको पिएसजीले मोनाकोलाई त्यति दबावमा राख्न सकेन। सो खेलमा पिएसजीले न त राम्रोसँग आक्रमण गर्न सक्यो, न त राम्रोसँग रक्षा नै। सो खेलमा पिएसजीले तीन गोल बेहोर्दा एक गोल पनि फर्काउन सकेको थिएन।
मोनाकोसँग हार बेहोरेकोसँगै पिएसजीका खेलाडीहरुको मनोबल अत्यन्तै कम्जोर भएको चर्चा शुरु भएको छ। पिएसजीका कप्तान मारक्विनहोस आफैं पनि मानसिकता परिवर्तन गर्नु पर्ने अवस्था रहेको बताउँछन्। कम्जोर मानसिकता सहित मैदानमा उत्रँदा लिग उपाधि समेत फुत्किन सक्ने मारक्विनहोस बताउँछन्।
त्यस्तै पिएसजी च्याम्पियन्स लिगबाट बाहिरिएपछि आक्रोशित भएका समर्थकहरुको व्यवहारका कारण पनि पिएसजीका खेलाडीहरुको मनोबल घटाइदिएको छ। सो हार पश्चात पिएसजी समर्थकहरु विभिन्न खेलाडीहरु विरुद्ध हुटिङ गरिरहेका छन्।
पिएसजी अहिले फ्रेन्च लिग वानको शिर्ष स्थानमा छ। पिएसजी दोस्रो स्थानमा रहेको मार्सेले भन्दा १२ अंकले अगाडी छ। मोनाकोसँग जित निकाल्न सकेको भए पिएसजी स्पष्ट रुपमा १५ अंकले अगाडी हुन्थ्यो।

