एजेन्सी – इटालियन क्लब युभेन्टसले पाउलो डिबालालाई सित्तैमा गुमाउन सक्ने भएको छ। यहि समरमा सम्झौता सकिँदै गरेको अवस्थामा डिबालाले सम्झौता थप गर्न नमानेसँगै उनलाई युभेन्टसले सित्तैमा गुमाउने भएको हो।
इटालियन मिडियाहरुका अनुसार डिबालाले युभेन्टससँगको सम्झौता थप गर्ने धेरै कम सम्भावना छ। सोमबार मात्रै डिबालाका एजेन्ट र युभेन्टसका अधिकारीहरु बीच भेटघाट भएको थियो। दुवै पक्ष सम्झौता थप गर्ने सहमतिमा पुग्न सकेनन्।
सो भेटघाटबाट निष्कर्ष ननिस्किएसँगै डिबाला युभेन्टस छाड्ने सम्भावना बढेको इटालियन मिडियाहरुको भनाई छ। सो सम्बन्धमा स्पेनिस पत्रिका मार्काले पनि केहि जानकारी बाहिर ल्याएको छ। मार्काका अनुसार डिबालाका प्रतिनिधिहरूले राखेको प्रस्तावमा पिएसजीका अधिकारीहरु सहमत हुन सकेनन्।
प्रारम्भिक सहमति अनुसार डिबालाले प्रति वर्ष आठ मिलियन यूरोको आधारभूत तलब पाउने थिए। प्रदर्शनका आधारमा दुई मिलियन यूरो थप गर्ने सहमति पनि पहिला भएको थियो। तर सो सहमति युभेन्टसले तोडी सकेको छ।
युभेन्टस प्रारम्भिक सहमतिबाट पछि हटेर मात्रै ७ मिलियन यूरो मात्र तिर्न तयार भएको छ। युभेन्टसले बोली फेरेसँगै डिबाला क्लब छाड्ने पक्षमा पुगेका छन्।

