पेरिस । अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग अनुबन्धन गरेपनि डेब्यु भने गरेका छैनन् । अनुबन्धनको दुई साता बितिसक्दा पनि मेस्सी म्याच फिट नभएको जानकारी प्रशिक्षक माउरिसियो पोचेटिनोले दिएका थिए । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
पिएसजीबाट डेब्यु नगरेको अवस्थामा पनि क्लबले मेस्सीलाई अर्को साता हुने विश्वकप छनोटका तीन खेलमा मेस्सीलाई अर्जेन्टिनाबाट खेल्न दिने भएको छ । मेस्सीले पछिल्लो केहि दिन पूर्ण प्रशिक्षणमा सहभागिता जनाएका छन् । उनले अर्को साता राइम्सविरुद्ध हुने लिग वनको खेलमा डेब्यु गर्ने सम्भावना छ । तर त्यसपछि मेस्सी एक साताका लागि अर्जेन्टिना जाने बुझिएको छ ।
अर्जेन्टिनाले सेप्टेम्बर पहिलो साता विश्वकप छनोट अन्तर्गत तीन खेल खेल्दैछ । कतार २०२२ को छनोट अन्तर्गत अर्जेन्टिनाले भेनेजुएला, ब्राजिल र बोलिभियासँग खेल्ने कार्यक्रम छ ।
छनोटका ६ खेलमा अर्जेन्टिना अपराजित छ । टोलीले ३ जित र ३ बराबरीसँगै १२ अंक जोडेको छ । अर्जेन्टिना अंक तालिकाको दोस्रो स्थानमा छ भने ६ खेलमा १८ अंक जोडेको ब्राजिल शीर्षस्थानमा छ ।
प्रशिक्षक पोचेटिनोले मेस्सी अर्जेन्टिना जाने विषयमा कुनै समस्या नरहेको बताए । ‘हामीले राष्ट्रिय टोलीको छनोटकर्ता सँग छलफल त गरेका छैनौं । तर हाम्रा खेलाडीले राष्ट्रिय टोलीबाट खेल्ने कुरामा हामी सधैं सकारात्मक छौं ।
अर्जेन्टिना मात्र होइन, अन्य खेलाडी र देशको विषयमा पनि हाम्रो यहि धारणा हो,’ उनले भने । मेस्सीसँगै ब्राजिलका नेयमार पनि विश्वकप छनोटको खेलमा सहभागी हुनेछन् । गत महिना मात्र अर्जेन्टिनाले ब्राजिललाई नै पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको थियो । मेस्सीले अन्तर्राष्ट्रिय उपाधिको खडेरी तोड्ने क्रममा ४ गोल र ५ असिस्टसहित गोल्डेन बुट पनि जितेका थिए ।