मुम्बई । केही दिनअघि अभिनेत्री दीपिका पादुकोणले अभिनेताले सरह पारिश्रमिक पाउनुपर्छ भनेकै कारण सञ्जय लिला भञ्सालीको चलचित्रबाट बाहिरिनु परेको समाचार आएको थियो । यस्तै, एउटा चलचित्रका लागि १२ करोड पारिश्रमिक माग गरेपछि बलिउड करिना कपुरले चलचित्र हातबाट हात धुनुपर्यो भने त्यसको खुबै आलोचनासमेत गरियो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
यसैबीच अभिनेत्री सोनम कपुर पारिश्रमिककै प्रसंगका कारण चर्चामा आएकी छन् । उनी महँगो पारिश्रमिकका कारण नभई सबैभन्दा कम पारिश्रमिक लिएका कारण चर्चामा आएकी हुन् । अभिनेत्री सोनमले सन् २०१३ मा प्रदर्शनमा आएको चलचित्र ‘भाग मिल्खा भाग’ का लागि मात्रै ११ रुपैयाँ भारु पारिश्रमिक लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
फरहान अख्तरको प्रमुख भूमिकामा रहेको उक्त चलचित्रमा अभिनेत्री सोनमको सानो भूमिका रहेको छ । यसबारे उक्त चलचित्रका निर्देशक राकेश ओमप्रकाश मेहराले खुलासा गरेका हुन् ।
उनले आफ्नो अटोबायोग्राफी ‘द स्ट्रेन्जर इन द मिरर’ मा सोनमले आफ्नै खुसीले उक्त पारिश्रमिकमा ‘गेस्ट अपिरियन्स’ का लागि तयार भएको उल्लेख गरेका छन् ।
चलचित्रका केही दृश्य र दुईवटा गीतमा मात्रै सोनम देखिएकी थिइन् । निर्देशक राकेश भन्छन्, ‘सोनमले बुझेकी थिइन् कि यो कुनै लभस्टोरी चलचित्र होइन । यो एउटा विभाजनबाट बचेको एक पुरुषको भयानक बाल्यकाल र ईश्री कौर (सोनम) मात्रै ती बालकको अतितसँग जोडिएको एउटा मात्रै सम्झना थियो ।’