काठमाडौँ – प्रस्तावित नेकपा एकीकृत समाजवादीका संयोजक माधव कुमार नेपालले आफूलाई फसाउन ओलीले विभिन्न षड्यन्त्र रचेको आरोप लगाएका छन्।
नेकपा एकीकृत समाजवादी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेपालले आफूलाई लिलिता निवास जग्गा प्रकरणमा ओलीले फसाउन खोजेको आरोप लगाएका हुन्।
आफूलाई फसाउनको लागि ओलीले अख्तियारका पदाधिकारीलाई बालुवाटारमा बोलाएर दबाब दिएको माधव नेपालको आरोप छ। कम्युनिस्ट आन्दोलनको पुनर्जागरणका लागि नयाँ कम्युनिस्ट पार्टीको आवश्यकता शीर्षकमा पेश भएको प्रतिवेदनमा ललिता निवास जग्गा प्रकरणमा नाम मुछिएका तत्कालीन नेकपाका महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएर माधव नेपाललाई फसाउने षड्यन्त्र गरिएको उल्लेख गरिएको छ।
“बालुवाटारको ललिता निवास जग्गा भ्रष्टाचार काण्डमा प्रत्यक्षरुपमा विष्णु पौडेल मुछिनु भयो जो रहस्यमय तरिकाले निर्वाचित महासचिवलाई अकस्मात हटाई महासचिव बनाइनु भएको थियो। वहाँलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले स्पष्टीकरणसमेत सोध्न आवश्यक ठान्नु भएन, बरु पटकपटक पदोन्नति गरी पुरस्कृत गर्ने काम गरियो।”,प्रतिवेदनमा भनिएको छ।
ललिता निवास जग्गा प्रकरणमा माधव नेपालको संलग्नता पुष्टि हुने प्रमाण नभएपनि ओलीले अख्तियारका आयुक्तहरुलाई बालुवाटारमै बोलाएर मुद्दा चलाउन दबाब दिएको आरोप प्रतिवेदनमा लगाइएको छ।
“कुनै संलग्नता नभएका पूर्व प्रधानमन्त्री कमकरेड माधव कुमार नेपाललाई फँसाउनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरुलाई बालुवाटारमै बोलाएर दबाब दिइयो। त्यस्तो काममा संलग्न हुँदा प्रमाण नपुग्ने कारणले कुनै पनि आयुक्तहरु त्यस जालि काममा सहमत हुन सकेनन्। के.पी. ओलीले अख्तियारका आयुक्तहरुलाई दबाब दिँदै पटक–पटक भन्नु भएछ, ‘प्रमाण नभए पनि एकपटक मुद्दा लगाएर यिनको सेखी झार्नु पर्यो।”,प्रतिवेदनमा उल्लेख गरिएको छ।