युभेन्टस प्रशिक्षक मासिमिलियानो एलेग्री र क्लबका उपाध्यक्ष पाभेल नेडभेड दुबै स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको युभेमा भविष्य बारे चलिरहेको मुद्दालाई हल गर्न कटिबद्ध थिए।
तर क्रिस्टियानो रोनाल्डोलाई उडिनेसे विरुद्ध आइतबार सेरी ए को उद्घाटन खेलका लागि बेन्चमा छोडेपछि ३६ वर्षीय स्ट्राइकरले क्लब छाड्ने इच्छा गरेको बताउने रिपोर्टहरुले झन विश्वसनीयता प्राप्त गरेका छन्। इटालियन सञ्चार माध्यमका अनुसार स्वयम् रोनाल्डोले क्लबमा आफ्नो भविष्य बारे चर्चा हल गर्नको लागि आफूलाई बेन्चमा राख्न प्रशिक्षक एलेग्रीलाई आग्रह गरेका थिए।
प्रशिक्षक एलेग्री र नेडभेडले सिधा सिधा रोनाल्डो युभेन्टस मै बस्ने जानकारी दिए पनि थुप्रै रिपोर्टहरुका अनुसार रोनाल्डो भने यहि सिजन इटाली छाड्न चाहन्छन्। रोनाल्डोको युभे कार्यकालको बारेमा कुरा गर्दा त्यसलाई सफल भने भन्न मिल्दैन। किनकि युभेन्टसले रोनाल्डो अनुबन्ध गर्नुको प्रमुख कारण च्याम्पियन्स लिग जित्नु थियो। तर रोनाल्डोको आगमनपछि क्लबले अहिलेसम्म एक पटक पनि प्रतियोगिताको सेमी-फाइनलसम्मको यात्रा पनि तय गर्न सकेको छैन।
जारी सिजनको अन्त्यबाट क्लबसँगको सम्झौता पनि सकिने हुँदा युभेन्टस पनि स्टार खेलाडी बेचेर केहि रकम बनाउन चाहन्छ। तर यो क्लबको भन्दा पनि बढी खेलाडीको इच्छा रहेको बुझिन्छ। सायद रोनाल्डो यो सिजन च्याम्पियन्स लिग दाबेदार टोलीमा जना चाहन्छन्। ३६ वर्षको उमेरमा पनि आफ्नो खेल स्तरलाई खस्कन नदिएका रोनाल्डोको पारिश्रमिकको कारण पनि उनलाई अनुबन्ध गर्न सक्षम क्लब धेरै छैनन्।
प्रिमियर लिग च्याम्पियन सिटी एक यस्तो क्लब हो जसले रोनाल्डोलाई भित्र्याउन सक्छ तर सिटीको प्रमुख लक्ष्य भनेको टोटनह्याम कप्तान ह्यारी केन रहेको र पेप ग्वार्डीओलाको ट्याकटिसमा पनि रोनाल्डो फिट हुन कठिन हुने कारण पनि क्लबले रोनाल्डोलाई त्यति चासो दिएको देखिँदैन।
रोनाल्डोको नाम जोडिएको अर्को क्लबको पीएसजी। तर मेस्सीलाई अनुबन्ध गरेसँगै पीएसजीमा रोनाल्डोलाई देख्न कठिन रहेको छ। फाइनानसियाल फेयर प्ले को कारण र एम्बाप्पे-मेस्सी-नेइमार जस्ता स्टार खेलाडीले भरिएको पीएसजीले रोनाल्डोलाई अनुबन्ध गर्न गाह्रो नै पर्ने देखिन्छ। रियल म्याड्रिड फिर्तीको चर्चालाई पनि स्वयम् रोनाल्डो र रियल प्रशिक्षक कार्लो एनसीलोटीले बन्द गरिसकेका छन्।
राफाएल भरान र जेडन सान्चो खरिद गरिसकेको रोनाल्डोको पूर्व क्लब म्यानचेस्टर युनाइटेडले पनि रोनाल्डोको ठूलो पारिश्रमिक धान्न सक्ने वा नसक्ने विषयमा प्रश्न उठ्नु कुनै नौलो कुरा हैन। यस्तोमा, रोनाल्डोको नाम जोडिएका अन्य दुई क्लब हुन् स्पोर्टिंग सिपी र टोटनह्याम हट्सपर। तर दुबै टोली च्याम्पियन्स लिगमा नभएको कारण रोनाल्डोको ट्रान्सफर यी क्लबमा निकै न्युन सम्भावना देखिन्छ।
यस्तोमा, रोनाल्डो थप एक सिजन युभेन्टस मै बस्छन् वा स्थानान्तरण भए भने कुन क्लबमा प्रवेश गर्लान् त भन्नेमा सबैको चासो बढेको छ।