युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डोको नाम जोडिदै गर्दा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी भने अझै पनि टोटनह्याम कप्तान ह्यारी केनलाई अनुबन्ध गर्न सक्दो कोशिस गर्दैछ। टोटनह्याम अध्यक्ष ड्यानियल लेभीले केन बिक्रीमा नरहेको बताए पनि सिटी भने सम्भावित ट्रान्सफरका लागि प्रयास गरिरहेको छ।
यहि महिनाको अन्तिमसँगै ट्रान्सफर विन्डो बन्द हुने भएको कारण सिटी दबाबमा रहेको छ। क्लब इतिहास कै सर्वश्रेष्ठ गोलकर्ता सर्जियो अगुएरो यहि सिजनबाट बार्सिलोनासँग अनुबन्ध भएसँगै प्रशिक्षक पेप नयाँ स्ट्राइकरको खोजीमा बजारमा उत्रिएका थिए। जसपछि केन नै पेपका प्रमुख लक्ष्य रहेका छन्।
गत सिजनका उच्च गोलकर्ता तथा सबैभन्दा बढी असिस्ट प्रदान गर्ने खेलाडी केन र टोटनह्याम बीच अझै ३ सिजन सम्झौता रहेका कारण क्लब उनलाई बेच्न तयार देखिएको छैन। सिटीले उनका लागि १०० मिलियनको अफर प्रस्ताव गरिसकेको छ जुन लण्डन क्लबले अस्विकार गरेको थियो। जसपछि ट्रान्सफर विन्डो बन्द हुनुअघि सिटी पुनः एक पटक उच्च रकमको अफर प्रस्ताव गर्ने तयारीमा रहेको छ।
रोनाल्डो सिटी जालान् ?
गोलको एक रिपोर्ट अनुसार युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डोको नाम पनि सिटीसँग पछिल्लो समय जोडिएको छ तर पनि सिटीको मुख्य टार्गेट भने केन नै रहेका छन्। युभेन्टस प्रशिक्षक म्यासिमिलियानो एलेग्रीले रोनाल्डो युभेन्टस मै रहने बताए पनि गत आइतबार भएको उडिनेसे विरुद्धको खेलमा स्वयम् रोनाल्डोले आफूलाई बेच्नमा राख्न आग्रह गरेसँगै उनले इटाली छाड्ने चर्चा फेरी सुरु भएको छ।