फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेले डर्टमण्ड स्टार एर्लिंग हालाण्ड अझै पनि आफनो स्तरका खेलाडी नभएको दाबी गरेका छन्। हालै एक अन्तर्वार्तामा बोल्दै पीएसजी स्ट्राइकरले नर्वेजियन सेन्सेसन आफ्नो स्तरमा पुग्न अझै समय लाग्ने बताएका हुन्।
एम्बाप्पे र हालाण्डलाई भविष्यका सुपरस्टारका रूपमा हेरिन्छ। मेस्सी-रोनाल्डोका उत्तराधिकारीका रूपमा हेरिएको यी दुई युवा स्टारको चर्चा अहिले विश्व फुटबलको शिखरमा रहेको छ। यस्तोमा हालै मात्र एस्क्वायरसँगको कुराकनीमा हालाण्डको बारेमा बोल्दै डर्टमण्ड स्टार अझै पनि आफू भन्दा थोरै पछाडी रहेको संकेत दिएका छन्।
२२ वर्षीय स्ट्राइकरले भने,”यो उनको दोस्रो सिजन हो, हामीले उनलाई राम्रोसँग बुझ्दै छौं। यो उनका लागि सुरुवात हो। उनले जे गरिरहेका छन्, म उनका लागि खुसी छु।” २०२० मा साल्सबर्गबाट जर्मन क्लब बोरुसिया डर्टमण्ड आएका हालाण्डले गत सिजन जर्मन लिगमा २८ खेल खेल्दै २७ गोल गर्न सफल भएका थिए।
एम्बाप्पे र हालाण्ड बीचको राईभलरी सुरु भइसकेको छ। यी दुई खेलाडीले नै एक-अर्कालाई उत्कृष्ट प्रदर्शन गर्न मनोबल बढाउने गरेको बताएका छन्। को भन्दा को कम भन्ने प्रतिस्पर्धामा उत्रिसकेका यी दुई खेलाडी बीचको भिडन्त आउँदो एक दशक चल्ने धेरैले विश्वास गरेका छन्। विश्व विजेता स्ट्राइकरले एस्क्वायरसँगको कुरा गर्दा आफू हालाण्ड भन्दा के कुरामा उत्कृष्ट भएको पनि संकेत दिएका छन्।
एम्बाप्पेले आफूले आक्रमण पङ्क्तिको हरेक स्थान (सेन्टर, दायाँ, बायाँ) मा खेलेर विश्व स्तरीय प्रदर्शन गरिसकेको र त्यो हरेक खेलाडीको लागि सम्भवन नहुने बताए। उनले आफूले आफ्नो कमजोरीमा काम गरेको र आफ्ना शक्तिलाई अझ मजबूत बनाएको पनि बताएका छन्।