एजेन्सी – केहि हप्ता अगाडी फुटबल जगतमा कसैले नसोचेको भयो। गएको डेढ दशक देखि बार्सिलोनामा रहेर विभिन्न उपाधि जितेका अर्जेन्टिनी स्टार फुटबल लियोनेल मेस्सीले बार्सिलोना छाडे। विभिन्न कारणले गर्दा मेस्सीले बार्सिलोना छाड्ने निर्णय गर्दा बार्सिलोना समर्थक दुखि भए भने फुटबल प्रेमी अचम्मित भए।
त्यसको केहि दिन बित्न नपाउँदै मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)सँग सम्झौता गरे। मेस्सीले सम्झौता गरेसँगै उनको नेयमारसँग पुनर्मिलन हुने मात्र पक्का भयो। त्यो भन्दा बढी मेस्सी नेयमार र वर्तमान समयका उम्दा खेलाडी किलियन एम्बाप्पे एकै क्लबमा हुने कुराले फुटबल प्रेमिलाई उत्साहित बनायो।
मेस्सी-एम्बाप्पे-नेयमार एक साथ आक्रमणमा उत्रँदा के-के हाँसिल गर्न सक्छन् भन्ने चर्चा पनि शुरु भयो। धेरैले मेस्सी-एम्बाप्पे-नेयमारको ट्रियोले तहल्का मच्चाउने दावी गरे। फ्रेन्च लिग वान मात्र नभई च्याम्पियन्स लिगमा पनि यो ट्रियोले धेरै राम्रो गर्ने अधिकांशको विश्वास थियो। त्यति मात्र नभई मेस्सी-एम्बाप्पे-नेयमारको ट्रियो फुटबल इतिहाँसकै सबै भन्दा घातक ट्रियो हुने चर्चा फुटबलवृत्तमा थियो।
तर पछिल्ला घटनाक्रमहरुले भने मेस्सी-एम्बाप्पे-नेयमारको ट्रियोलाई मैदानमा देख्न नपाइने बताइरहेको छ। केहि दिन देखि एम्बाप्पे स्पेनिस क्लब रियल म्याड्रिड जाने चर्चा छ। एम्बाप्पेले क्लब छाड्न जोड-बल गरेपछि पिएसजी उनलाई बेच्ने मनस्थितमा पुगेको छ। रियलले चित्त बुझ्दो प्रस्ताव राखेको खण्डमा एम्बाप्पे केहि दिनमै रियलमा हुनेछन्। यदि यस्तो भएको खण्डमा मेस्सी-एम्बाप्पे-नेयमारलाई एक साथ मैदानमा देख्ने सपना सपनामै सिमित हुनेछ।