सभामुख र आयोगविरुद्ध एमाले अदालत जाने !

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरूद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अदालत जाने भएको छ । बिहीबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकले आफ्ना १४ जना सांसदलाई विधान र कानुनबमोजिम गरिएको कारबाही अघि नबढाएको भन्दै एमालेले सभामुख सापकोटाविरुद्ध अदालत जाने निर्णय गरेको हो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

 बैठकले पार्टीको कारबाहीमा परेका व्यक्तिलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै निर्वाचन आयोगविरूद्ध पनि अदालत जाने निर्णय गरेको छ । माधवकुमार नेपालसहित १४ जनालाई सांसद पदबाट निलम्बन गरेको सूचना एमालेले १ भदौमा संघीय संसद सचिवालयलाई जानकारी गराएको थियो । तर सचिवालय त्यसको सूचना जारी नगरेपछि एमाले सभामुखविरुद्ध अदालत जाने भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

कारबाहीमा परेका नेपालसहितका नेताहरुको सनाखत लिएर नेकपा एकीकृत समाजवादी दल दर्ता गरेको भन्दै आयोगविरूद्ध पनि अदालत जाने एमालेले निर्णय गरेको हो । बिहीबारको बैठकले पार्टी विभाजनमा लागेका केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगमा एमालेको अभिलेखबाट हटाउने निर्णयसमेत गरेको छ । यसैगरी, पार्टी १०औँ महाधिवेशनको मिति सार्ने पनि निर्णय गरेको बैठकले १० बुँदे प्रस्तावलाई शीघ्र कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।
कार्यान्वयन सहजीकरणका लागि महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट र टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको छ ।

प्रकाशित : शुक्रबार, भदौ ११, २०७८०८:२६

हृदयेश त्रिपाठीले पनि तत्कालै खोल्ने भए नयाँ पार्टी !