युनाइटेड फिर्ता हुँदा यी रेकर्ड माथि रोनाल्डोको नजर ! सफल होलान् त ?

एजेन्सी – युभेन्टस छाड्ने लामो चर्चा पछि पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो पूर्वक्लब म्यानचेस्टर युनाइटेड फिता हुने भएका छन्। युभेन्टस र युनाइटेड एक सहमतिमा पुगेसँगै रोनाल्डो १ दशक भन्दा लामो समय पछि युनाइटेड फर्किने भएका हुन्।

रोनाल्डो फर्किने भएसँगै इंग्ल्याण्डमा तरंग पैदा भएको छ। रोनाल्डोको फिर्तीले प्रिमियर लिगलाई धेरै फाइदा पुग्ने चर्चा यति बेला चलिरहेको छ। हाल युरोपको शिर्ष लिगको मान्यता पाएको प्रिमियर लिग रोनाल्डोको आगमनसँगै थप रोमान्चक हुने धेरैको अनुमान छ।

रोनाल्डो खेल जीवनको शुरुवातमा सन् २००३ देखि सन् २००९ सम्म युनाइटेडमा रहेका थिए। त्यसक्रममा उनले २ सय ९२ खेल खेल्दै १ सय १८ गोल गरेका थिए। रोनाल्डोले युनाइटेडमा रहँदा ब्यालोन डी’ओर र फिफा उत्कृष्ट वर्ष खेलाडी जस्ता व्यक्तिगत उपाधि जितेका थिए भने विभिन्न रेकर्डहरु पनि बनाएका थिए। युनाइटेडमै पुनः फिर्ता हुँदा रोनाल्डोको नजर अब नयाँ रेकर्ड बनाउनेमा पनि हुनेछ।

के-के रेकर्ड तोडिन सक्ला ?

प्रिमियर लिग सिजनमा सर्वाधिक गोल

सन् २००७-२००८ को सिजनमा ३१ गोल गर्दै एकै सिजनमा सर्वाधिक गोलको रेकर्डमा रोनाल्डोले बराबरी गरेका थिए। तर सन् २०१७ं-२०१८ को सिजनमा लिभरपुलका मोहमद सलाहले उक्त रेकर्ड ३२ गोल सहित तोडिसकेका छन्। गत सिजन युभेन्टसका लागि २९ गोल गरेका रोनाल्डोको नजर प्रिमियर लिगमा सिजनको सर्वाधिक गोलकर्ता बन्ने मात्र नभई सलाहको रेकर्ड तोड्नेमा हुनेछ।

एकै सिजनमा म्यानचेस्टर युनाइटेडका लागि सर्वाधिक गोल गर्ने खेलाडी

रोनाल्डोले युनाइटेडको पहिलो बसाईका क्रममा एकै सिजनमा ४२ गोल गरेका थिए। सन् २००७-८ को सिजनमा युनाइटेडका लागि उनले सम्पूर्ण प्रतियोगितामा ४९ खेल खेल्दै उक्त संख्यामा गोल गरेका थिए। एकै सिजनमा युनाइटेडका लागि सर्वाधिक गोल गर्ने रेकडको मामलामा उनी तेस्रो स्थानमा रहेका थिए। धेरै भन्दा धेरै गोल गर्न सकेको खण्डमा रोनाल्डोले उक्त रेकर्ड पनि तोड्न सक्नेछन्।

म्यानचेस्टर युनाइटेडका लागि यूईएफए च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडी

क्रिस्टियानो रोनाल्डो युईएफए च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता हुन्। च्याम्पियन्स लिगमा उनले अहिले सम्म १ सय ३५ गोल गरिसकेका छन्। च्याम्पियन्स लिगको एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड रोनाल्डोकै नाममा छ। एकै सिजनमा युनाइटेडका लागि च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडी को रेकर्ड रोनाल्डोले तोड्न सक्छन्। युनाइटेडका लागि च्याम्पियन्स लिगको एकै सिजनमा एक खेलाडीबाट १२ गोल सम्म भएको छ।

ह्याट्रिक

रोनाल्डोले अहिले सम्म ५७ ह्याट्रिक गरिसकेका छन्। तर म्यानचेस्टरमा हुँदा उनले एक पटक मात्र ह्याट्रिक गरेका थिए। म्यानचेस्टर युनाइटेडका लागि सबै भन्दा धेरै ह्याट्रिक गर्ने खेलाडीको रेकर्ड वाइन रोनीको नाममा छ। उनले ८ ह्याट्रिक गरेका छन्। आधुनिक प्रिमियर लिगमा सर्वाधिक ह्याट्रिक गर्ने खेलाडीको रेकर्ड सर्जियो अगुएरो नाममा छ। उनले प्रिमियर लिगमा १२ ह्याट्रिक गरेका छन्। दुवै रेकर्ड रोनाल्डोले तोड्न सहज देखिँदैन। अगुएरोको रेकर्ड तोड्न असम्भव भएपनि रोनीको रेकर्ड भने तोड्न सक्छन्। त्यसको लागि उनले अब ७ ह्याट्रिक गर्नुपर्ने हुन्छ।

प्रिमियर लिगको एक खेलमा सर्वाधिक गोल

प्रिमियर लिगको एकै खेलमा एक खेलाडीले पाँच गोल सम्म गरेको रेकर्ड छ। उक्त रेकर्ड पाँच जनाको नाममा छ। पाँच खेलाडीले एकै खेलमा पाँच गोल गरेका छन्। रोनाल्डोले पनि रियल म्याड्रिडबाट खेल्दा एकै खेलमा पाँच गोल गरेका थिए। उनले त्यस्तो दुई खेलमा गरेका थिए। प्रिमियर लिगको एकै खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बनाउन रोनाल्डोले ६ गोल सम्म गर्नुपर्नेछ।

प्रकाशित : शनिबार, भदौ १२, २०७८१५:००

“१० वटा पार्टी मिल्दा पनि एमालेसँग सक्दैनन्”