काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी खोलेर केहि व्यक्तिहरु पार्टीबाट बाहिरिँदैमा खासै केहि फरक नपर्ने बताएका छन्। शनिबार ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा ओलीले पार्टीबाट केहि व्यक्ति बाहिरिँदैमा ठूलो असर नपर्ने बताएका हुन्।
ओलीले रुखबाट एक दुई पातहरु खस्दैमा केही फरक नपर्ने बताए। रुखमा नयाँ पालुवाहरु पलाइरहेका कारण चिन्ता गर्नुपर्ने अवस्था नरहेको ओलीको भनाई छ। उनले भने,”रुखबाट एक दुई पातहरु खस्दैमा केही फरक पर्दैन । नयाँ पालुवाहरु पलाइरहेका छन् । चिन्ता लिनु पर्दैन ।”
साथै आउने चुनावमा एमालेसँग प्रतिष्पर्धा कसैले गर्न नसक्ने पनि ओलीले दावी गरे। एमालेबाट जो उम्मेदवार बनेपनि जित्ने ओलीको दावी छ। एमालेसँग एक्लै लड्न सकिन्न भन्ने थाहा भएरै अन्य पार्टीहरु एक ठाउँमा आएको उनले आरोप लगाए।
“एक–एक दर्जन मान्छे भएका दश पार्टी मिल्दा कति हुन्छ ? १० दर्जन नै त भए होला नि होइन ? १२० जनाको मोर्चाले कसरी हामीसँग लड्ने ? अरु सबै जोड्न पनि एमालेको कम्मर कम्मर मात्रै आउने हुन् ।”,ओलीले भने,”अबको चुनावमा एमालेको कसैसँग प्रतिस्पर्धा हुँदैन । एमालेबाट जो उम्मेदवार बन्छ, उसले जित्छ । एमालेसँग एक्लै लड्न सकिन्न भन्ने सबैलाई थाहा छ । कसैले नचिताए हुन्छ ।”