एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पुन: अनुबन्ध गरेपछि अहिले ट्रान्सफर बजारमा यहि चर्चा छ । दुई क्लबबीच सहमति भएपछि रोनाल्डोले युभेन्टसलाई धन्यवाद भनिसकेको कारण पनि अब औपचारिक घोषणाको व्यग्र पर्खाइमा युनाइटेड समर्थक छन् ।
रोनाल्डो एक दशकपछि युनाइटेड फर्कन लागेका हुन् । यसअघि युनाइटेडबाट नै सिनियर करिअरमा छाप बसाएका रोनाल्डोले त्यसपछि रियल म्याड्रिड र युभेन्टसबाट खेलेका थिए । आफ्नो सिनियर करिअरमा जर्सी नम्बर ७ प्रयोग गरेका रोनाल्डोले यसलाई आफ्नो ब्राण्ड नै बनाएका छन् । रोनाल्डोले सीआर७ को ब्राण्डमा फुटबलबाहिर थुप्रै व्यापारिक क्षेत्रमा लगानी गरेका छन् ।
रोनाल्डोले यसअघि युनाइटेडको निकै प्रतिष्ठित जर्सी नम्बर ७ लगाएर करिअरमा उडान भरेका थिए । उनीपछि युनाइटेडमा अन्य खेलाडीले जर्सी नम्बर ७ प्रयोग गरेपनि कसैले राम्रो छाप बसाउन सकेका छैनन् । रोनाल्डोपछि एन्टोनियो भ्यालेन्सिया, एन्जल डी मारिया, मेम्फिस डिपाए र एडिन्सन काभानीले यो नम्बर प्रयोग गरेका छन् ।
हाल काभानीले युनाइटेडमा ७ नम्बर जर्सी लगाइरहेका छन् । रोनाल्डोको आगमनसँगै काभानीको भविष्य पनि अनिश्चित छ । यसैपनि काभानी युनाइटेडमा रहनेबारे शंका भइरहेको अवस्थामा रोनाल्डोको आगमनले उनी क्लब छाड्ने सम्भावना बढेको छ ।
काभानीले रोनाल्डोको लागि नै जर्सी छाड्ने सम्भावना पनि रहन सक्छ । तर त्यसका लागि प्रिमियर लिगको विशेष स्वीकृति आवश्यक पर्छ । लिगको नियम अनुसार दर्ता गरिसकेको जर्सी नम्बर परिवर्तन गर्न पुरानो खेलाडीले क्लब छाडेको हुनुपर्ने वा स्वीकृति लिनुपर्ने नियम छ ।
रोनाल्डोले आफ्नो करिअरमा यसअघि जर्सी नम्बर २८ र जर्सी नम्बर ९ प्रयोग गरेका थिए । युनाइटेडमा अहिले ९ नम्बर एन्थोनी मार्सियल र २८ नम्बर फाकुन्दो पेलिस्त्रीले प्रयोग गरेका छन् । रोनाल्डोले राष्ट्रिय टोलीबाट १७ नम्बर पनि प्रयोग गरेका छन् । युनाइटेडमा अहिले उपलब्ध जर्सीहरु १२, १५, २४, ३०, ३१, ३३ र ३५ छन् ।