पार्टी फुट्नुमा बढी दोष कसको ? को बढी कुलंगार ?

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमाले विभाजन भएपछि नेताहरूले कार्यकर्ता भेला, संगठन निर्माण र विस्तारमा जोड दिन थालेका छन्। केपी शर्मा ओली र माधवकुमार नेपाल विभाजनको दोष एकअर्कामा थोपरेर बढीभन्दा बढी जनप्रतिनिधि र नेता–कार्यकर्तालाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन्। ओलीले नेतृत्व गरेको एमालेबाट अलग भएका नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

ललितपुरका अलगअलग स्थानमा शनिबार आयोजित अलगअलग कार्यक्रममा एमाले अध्यक्ष ओली र नेकपा एसका अध्यक्ष नेपालले गरेको सम्बोधन पनि जनप्रतिनिधि र नेता–कार्यकर्ता लक्षित थियो। ओली र नेपालले एमाले विभाजनको दोष एकअर्कालाई लगाएर आफू चोखो हुन खोजिरहेका छन्। यसको अर्थ ओली एमालेबाट निर्वाचित जनप्रतिनिधि र नेता–कार्यकर्तालाई नेपालको पार्टीमा जानबाट रोक्न चाहन्छन् भने नेपाल एमालेबाट निर्वाचित जनप्रतिनिधि र नेता–कार्यकर्तालाई आफ्नो पार्टीमा बढीभन्दा बढी तान्न चाहन्छन्।

एमाले अध्यक्ष ओलीले पार्टी विभाजन गरेको भन्दै नेपालको कडा आलोचना गरेका छन्। युवा संघद्वारा ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विभाजनतिर लागेका नेता नेपालसहितलाई कुलंगारको संज्ञा दिए। उनले नेपालप्रति लक्षित गर्दै एकदुई पात झर्दैमा रूखले चिन्ता मान्नुपर्दैन भन्दै कार्यकर्तालाई ढाडस दिए। ओलीले आफूले पार्टी एकीकरण गरेको, संसद्मा पार्टीलाई लगभग दुई तिहाइको स्थितिमा पुर्‍याएको, सातमध्ये ६ प्रदेशमा पार्टीको बहुमतको सरकार बनाएको, ३५ हजारमध्ये २० हजारभन्दा बढी स्थानमा पार्टीका उम्मेदवार जिताएको बताउँदै यो प्रगतिलाई केही नेताले सहन नसकेर पार्टी विभाजन गरेको आरोप लगाए।

यसैगरी पेसागत महासंघ नेपाल, वाग्मती प्रदेशद्वारा आयोजित ललितपुर जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एसका अध्यक्ष नेपालले एमाले विभाजनको दोष ओलीमाथि लगाए। नेपालले एमाले विभाजन गरेपछि ओलीले भोजभतेर गरेको आरोप लगाए। ‘एउटा व्यक्तिको राजनीतिक जीवनमा यस्ता घटना परिघटना भइरहन्छन्, केहीकेही व्यक्ति पार्टी विभाजित हुँदा रमाउँछन्, नाच्छन्, भोज खान्छन्’, ओलीप्रति लक्षित गर्दै नेपालले भने, ‘पार्टी फुटाएर रमाएको त्यही गुट फेरि पार्टीबाट पिलो निस्केकाले हाइसन्चो भयो भनिरहेको छ, खिल अझै बाँकी छ भनिरहेको छ, घाँडो पन्छियो भनिरहेको छ।’

नेपालले आफू एक कार्यकाल मात्रै पार्टी अध्यक्ष हुने र त्यसपछि नेतृत्व स्वतः अर्को तहमा जाने बताए। चार दिनअघि ओलीले पनि अनुकूल समयमा आफूले नेतृत्व हस्तान्तरण गर्ने बताएका थिए। ओली र नेपालको अहिलेको ध्येय पार्टी विभाजनको दोष एकले अर्कालाई लगाएर जनप्रतिनिधि र नेता–कार्यकर्तालाई आफ्नो पक्षमा राख्नु र तान्नु हो। ‘पार्टी फुटाउने, सरकार गिराउने, प्रदेशप्रदेशमा एमालेको सरकार बन्न नदिने, बनेको सरकालाई काम गर्न नदिने कुलंगार नेताहरू यस पार्टीमा जन्मिए, लामो समयसम्म मधुकैटभले जस्तो दुःख दिए। अस्तिका दिन त पुर्जा लिए क्यारे दलको ! कस्तो बुद्धि होला ?’ नेपालप्रति आक्रोश पोख्दै ओलीले भने।

प्रकाशित : आइतबार, भदौ १३, २०७८०७:४४

विवादको सुनुवाइ गर्न नमिल्ने दिन प्रधानन्यायाधीश बिदामा !