यी व्यक्ति जसले विरक्तिएका रोनाल्डोको उद्धार गरे …

एजेन्सी – इटालियन क्लब युभेन्टसले सन् २०१८ मा रियल म्याड्रिडबाट पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई भित्र्यायो। निकै महँगो मूल्यमा भित्र्याइएका रोनाल्डोलाई युभेन्टस आकर्षक पारिश्रमिक दिन पनि तयार भएको थियो। च्याम्पियन्स लिग जित्ने योजना सहित रोनाल्डोलाई ल्याएको भएपनि युभेन्टसले च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गर्न सकेन। च्याम्पियन्स लिगमा आशा गरेजस्तो प्रदर्शन गर्न नसकेको भन्दै रोनाल्डोको इटालीमा चर्को आलोचना पनि गरियो।

रोनाल्डो माथि त्यहाँका मिडियाहरुले पनि लगातार प्रहार गरिरहे। रोनाल्डोको आलोचनामा युभेन्टसका पूर्व अधिकारी देखि पूर्व अध्यक्ष सम्म अगाडी आए। उनीहरुले रोनाल्डोका कारण युभेन्टस डुब्ने अवस्थामा पुगेको टिप्पणी समेत गरे। यसरी आफू माथि लगातार प्रहार हुँदा रोनाल्डो भित्र-भित्रै दुखि भए। बाहिर खासै केहि नदेखाएपनि उनले युभेन्टसमा रहन नसकिने निष्कर्ष निकाले। त्यसपछि शुरु भयो नयाँ क्लबको खोजि।

रोनाल्डोले युभेन्टसमा रहन नसक्ने बताएपछि उनका एजेन्ट जोर्गे मेन्डेज विभिन्न विकल्पको अध्ययनमा जुटे। सबै भन्दा पहिला उनले रोनाल्डोलाई रियल म्याड्रिड र युनाइटेड फिर्ता गराउन सकिन्छ कि भनेर प्रयास गरे। तर दुवै क्लबबाट रोनाल्डो माथि चासो देखाएनन्।

रोनाल्डो च्याम्पियन्स लिगमा प्रतिष्पर्धा गर्न सक्ने टीममा आवद्ध हुन चाहन्थे। जसकारण रोनाल्डोलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)मा अनुबन्ध गर्न मेन्डेजले कुरा चलाए। तर, लियोनेल मेस्सी पिएसजीमा अनुबन्धित भएपछि रोनाल्डोका लागि ढोका बन्द भयो।

पारिश्रमिक धेरै रहेका कारण रोनाल्डोलाई यस्तै-उस्तै क्लबले धान्न सक्ने अवस्था पनि थिएन। हाल आर्थिक रुपमा धेरै सवल रहेको म्यानचेस्टर सिटीसँग मेन्डेजको कुरा भयो। जसक्रममा रोनाल्डोलाई सित्तैमा अथवा धेरै कम रकममा रोनाल्डोलाई भित्र्याउने सिटीको जवाफ आयो। सोहि अनुसार उनले युभेन्टससँग कुरा अगाडी बढाए। तर युभेन्टसले रोनाल्डोलाई सित्तैमा पठाउन नसकिने बतायो। रोनाल्डो म्यानचेस्टर सिटीमा जाने चर्चाले पूरै फुटबल जगत तरंगित भयो।

प्रतिद्वन्दी क्लबमा जान लागेको भन्दै रोनाल्डोको पूर्वक्लब म्यानचेस्टर युनाइटेडका समर्थक रुष्ट भए। पूर्व खेलाडी रहिसकेका रोनाल्डो जस्ता खेलाडीलाई अनुबन्ध गर्ने प्रयास नगरेको भन्दा युनाइटेडको चर्को आलोचना भयो। समर्थकहरुको दबाव पछि युनाइटेड रोनाल्डोलाई क्लबमा फिर्ता ल्याउन तयार भयो। अन्ततः युभेन्टस र युनाइटेड एक सहमतिमा पुगे। र, रोनाल्डो युनाइटेड फिर्ता हुने भए।

प्रकाशित : आइतबार, भदौ १३, २०७८११:०४

रोनाल्डो बिक्री गर्दा युभेन्टसले कति रकम बनायो ? यस्तो छ हिसाब किताब !