रोनाल्डो बिक्री गर्दा युभेन्टसले कति रकम बनायो ? यस्तो छ हिसाब किताब !

एजेन्सी – सन् २०१८ मा रोनाल्डो युभेन्टसमा ल्याण्ड हुँदा सबै मख्ख र उत्साहित थिए। युभेन्ट्सका अध्यक्ष एन्ड्रिया एग्नेली र पूर्व खेल निर्देशक फाबियो पाराटिसीको ठाँट नै छुट्टै थियो। विश्वकै उत्कृष्ट खेलाडी आफ्नो क्लबमा आउँदा उनीहरुले सिरी ‘ए’मा मात्र नभई च्याम्पियन्स लिगमा पनि राज गर्ने सपना देखिरहेका थिए। रोनाल्डो एक्लैले मात्र के चाहिँ गर्न सक्थे र ? युभेन्टसले गत सिजन च्याम्पियन्स लिगमा मात्र नभई घरेलु लिगमा पनि राम्रो प्रदर्शन गर्न सकेन।

युभेन्टसलाई सबै भन्दा ठूलो समस्या कोरोना महामारीले पार्यो। महामारीका कारण युभेन्टसलाई आर्थिक समस्या आइलाग्यो। र त्यसपछि शुरु भयो नयाँ बहस – रोनाल्डोलाई भित्र्याउने निर्णय गलत थियो। रोनाल्डोको पारिश्रमिकले समेत युभेन्टस समस्यामा परेको थियो।

रोनाल्डोले एक वर्षमै ३१ मिलियन युरो आसपास पारिश्रमिक बुझ्ने गरेका थिए। तर, बताइएअनुसार रोनाल्डोका लागि युभेन्टसको वार्षिक खर्च ६० मिलियन युरो सम्म पुग्ने गरेको थियो। त्यसभित्र कर सहित अन्य विभिन्न खर्चहरु थिए।

युभेन्टस र म्यानचेस्टर युनाइटेड बीच भएको सहमति अनुसार रोनाल्डो बिक्री गर्दा युभेन्टसले २८ मिलियन युरो पाउनेछ। रोनाल्डोको वार्षिक पारिश्रामिक र यो रकम जोड्ने हो भने लगभग ८८ मिलियन युरो हुन आउँछ। रोनाल्डो बिक्री गर्दा बचेको ६० मिलियन युरो र बिक्री गर्दा पाउने २८ मिलियन युरो रकम अब युभेन्टसले खेलाडी किन्नमा प्रयोग गर्न अपाउनेछ।

अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार युभेन्टस यति बेला नयाँ खेलाडीको खोजिमा जुटिसकेको छ। रियल म्याड्रिडका एडेन हाजार्ड, माउरो इकार्डी र मोइसे कीन जस्ता खेलाडीको नाम अगाडी आएको छ।

प्रकाशित : आइतबार, भदौ १३, २०७८११:३९

मेस्सीले झन्डै २० दिनमा बनाएको रेकर्ड रोनाल्डोले २० मिनेटमा तोडे, ओझेल मै पार्दिए मेस्सीलाई त !