“नयाँ पार्टी बनाइसकेकालाई कारवाही गर्न मिलेन” -सभामुख

काठमाडौं । नेकपा एमालेले कारबाही गर्दै सांसद पदबाट मुक्त गर्न संसद सचिवालयलाई जानकारी दिए पनि सभामुख अग्निप्रसाद सापकोटाले उनीहरुलाई पदमुक्त गर्न नमिल्ने निर्णय गरेका छन् । आइतबार सभामुख सापकोटाले उनीहरुमाथि गरिएको कारबाहीको सूचना प्रकाशित नगर्ने निर्णय गरेको संसद सचिवालय स्रोतले जनायो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

एमालेले पार्टी विभाजनमा लागेका माधवकुमार नेपाललगायत १४ जना प्रतिनिधिसभाका सांसदलाई कारबाही गर्दै पदमुक्तका लागि भदौ १ गते संसद सचिवालयलाई पत्र लेखेको थियो । तर, सभामुख सापकोटाले उनीहरुलाई कारबाही गरिएको सूचना नटासेपछि उनीहरु पदमुक्त भएका थिएनन् ।

माधवकुमार नेपाललागयत कारबाहीमा परेका सबै तथा थप अन्य सांसदहरुले भदौ २ मा निर्वाचन आयोगमा अर्को दल दर्ताका लागि निवेदन दिएका थिए । निर्वाचन आयोगले यही भदौ ९ गते माधवकुमार नेपालको दल नेकपा (एकीकृत समाजवादी)लाई दल दर्ताको प्रमाण पत्र दिएको थियो । दल दर्तापछि आयोगले संसद सचिवालयलाई नयाँ दल गठन भएको विषयमासमेत जानकारी दिइसकेको छ ।

संसद सचिवलायले स्रोतले भन्यो, ‘कारबाहीमा परेका सांसदहरु अब अर्को दलका सांसदहरु भइसकेकाले उनीहरुमाथि कारबाही गर्न नमिल्ने सभामुखले निर्णय गर्नु भएको छ ।’

निर्वाचन आयोगले दल दर्ताको प्रमाण पत्र दिनुअघि नै १४ जनालाई सांसद पदबाट मुक्त गर्न भन्दै एमाले सांसदहरुले सभामुख सापकोटाको कार्यकक्षमा धर्नासमेत दिएका थिए । यही विषयलाई लिएर एमाले र सभामुख सापकोटाबीचको सम्बन्ध बिग्रेको छ ।

प्रकाशित : सोमबार, भदौ १४, २०७८०६:४१

‘म राजेश हमाल’मा राजेश हमालले नै काम नगर्ने !