सरुवा हुने बेलामा रौतहटका एसपी नक्सालमा, छानबिन टोली पुगे जिल्लामा!

एक जना स्थानीय पत्रकारलाई नियोजित ढंगले लागुऔषध कारोबारमा मुछेको आरोप लागेका रौतहटका एसपी सिध्दिविक्रम शाहविरुध्द छानबिन शुरु भएको छ । शाह सरुवा भएर जिल्ला गएको १० महिना भइसकेको छ । प्रहरीको नियमानुसार अब उनको सरुवा हुने मुश्किलले एकाध महिना मात्र बाँकी छ ।

सरुवा हुने बेलामा अहिले उनलाई हेडक्वार्टरमा तानेर जिल्लामा छानबिन टोली पठाइएको बुझिएको छ । शाहले गत सातादेखि हेडक्वार्टरमा हाजिर गर्दै आएका छन् । उनलाई औपचारिक रुपमा केही पनि सोधपुछ गरिएको छैन तर उनी यता आएपछि शनिबार चार सदस्यीय टोली छानबिनको लागि गौर पुगेको छ ।

एसएसपी कृष्ण महतको नेतृत्वमा टोली त्यता गएको हो । टोलीमा कानुनका डीएसपी ज्ञानेन्द्र बस्नेत, साइबर ब्युरोका डिसपी र एक जना इन्सपेक्टर रहेको बताइएको छ । यो समाचार आजको जनआस्थामा प्रकाशित छ।

प्रहरीले गौर काण्डको उजुरी पर्नुअघि नै सेल्फ मनिटरिङमा छानबिन टोली बनाएको स्रोतको दाबी छ । ‘पत्रपत्रिकामा समाचार र काण्डमा मुछिएका एसपीको भ्वाइससमेत बाहिर आएपछि चासो लिइएको,’ स्रोतले दाबी गरेको छ । स्रोत भन्छ, ‘अडियो अथेन्टिक हो ।’

उता, विगतमा विभिन्न बात लागेका डिआइजी सौरभ राणालाई भने प्रदेश समन्वय निर्देशनालयको जिम्मेवारी दिइएको छ । गत असारमा एआइजीको फुली थापेका सहकुल थापालाई भने जिम्मेवारी विहीन बनाइएको छ । थापालाई आइजीको सचिवालयमा हाजिर हुने व्यवस्था मात्र मिलाइएको प्रहरीको उच्च स्रोतले बताएको छ ।

उच्च स्रोत भन्छ, ‘चिफको अफिस रहेको बिल्डिङमा बस्ने व्यवस्था मिलाए पनि थापालाई कुनै जिम्मेवारी दिइएको छैन । उनको बढुवा भएपछि ओली सरकार पनि ढल्यो । ओलीले हतार गर्दा अहिले थापालाई दु:ख भयो ।’

प्रकाशित : मङ्गलबार, भदौ १५, २०७८१०:१७

प्रधानन्यायाधीशको अब के हुने ?