नेपाल र भारत बीच हुने दुई मैत्रीपूर्ण खेल मध्ये पहिलो खेल बिहिबार नेपाली समय अनुसार ५:३० बाट सुरु हुनेछ। दशरथ रंगशालामा हुने पहिलो खेल दर्शकले पनि प्रत्यक्ष रूपमा मैदानमा नै गएर हेर्न पाउने भएका छन्। कोरोना महामारीका कारण केहि स्वास्थ्य नियम पालना गरेर मात्र उक्त खेल दर्शकले हेर्न पाउनेछन्।
भोलि साँझ ५:३० बाट सुरु हुने पहिलो खेल मैदान मै गएर प्रत्यक्ष रूपमा हेर्नको लागि पीसीआर परिक्षण नेगेटिभ आएको प्रमाण वा कोरोना विरुद्धको खोपको दुबै डोज लगाइसकेको हुनुपर्नेछ। दुबै खोप लगाएकाले खोप कार्ड देखाउने तथा खोप नलगाएकाले पिसीआर परिक्षणको रिपोर्ट देखाउनु पर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार पहिलो खेलका लागि ५ हजार १ सय दर्शकको स्वीकृतिका लागि संघले सरकारलाई प्रस्ताव गरेको बताएका छन्। जसपश्चात सरकारले कोरोना महामारीलाई मध्यनजर गर्दै तोकेको मापदण्ड पूरा गर्दै दर्शकलाई प्रवेश दिने गरि तयारी भइरहेको छ। सरकारबाट त्यसका लागि स्वीकृति पनि प्राप्त भएको शेर्पाले बताए। अहिलेसम्म दर्शकका लागि टिकेट मूल्य भने सार्वजनिक गरिएको छैन। दर्शकका लागि मैदान प्रवेश गर्न आवश्यक पर्ने टिकेटको मूल्य आज साँझसम्म सार्वजनिक हुनेछ।
सन् २०१५ मा विश्व कप छनोटको खेलपछि पहिलो पटक यी दुई टोली दशरथ रंगशालामा आमने-सामने हुन लागेका हुन्। उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो।