बार्सिलोनाका युवा स्टार अन्सु फातीले यो सिजन १० नम्बर जर्सी लगाउने भएका छन्। यसअघि य्हो जर्सी पूर्व कप्तान लियोनल मेस्सीले २००८ देखि लगाएका थिए। बार्सिलोनासँग नयाँ सम्झौता नभएपछि मेस्सी पीएसजी प्रस्थान गरेपछि क्लबको जर्सी नम्बर १० खाली रहेको थियो।
बार्सिलोनाले आफ्नो आधिकारिक ट्वीटर पेजमा एक भिडियो सार्वजनिक गर्दै यस सिजनबाट क्लबको जर्सी नम्बर १० स्पेनिस स्टार अन्सु फातीले लागाउने घोषणा गरेको छ। जससँगै १८ वर्षीय स्ट्राइकरको काँधमा ठूलो जिम्मेवारी पनि आएको छ। क्लबमा उक्त जर्सी रिभाल्डो, रोनाल्डिन्हो, मेस्सी जस्ता फुटबल जगतका सर्व श्रेष्ठ खेलाडीले लगाइसकेका छन्।
Our new number 🔟
Made in La Masia 💙❤️
⭐️ @ANSUFATI ⭐️ pic.twitter.com/co6NcpjxOx— FC Barcelona (@FCBarcelona) September 1, 2021
बार्सिलोनाले जारी गरेको भिडियोको क्याप्सनमा लेखेको छ,”हाम्रो नयाँ नम्बर १०, ला मासियाबाट उत्पादित…. अन्सु फाती..” हाल चोटका कारण मैदान बाहिर रहेका स्पेनिस स्ट्राइकर छिटै फर्किने बताइएको छ। गत सिजन चोटका कारण बाहिरिनु अगाडी उनले क्लब तथा अन्तराष्ट्रिय स्तरमा थुप्रै रेकर्ड आफ्नो नाममा गरिसकेका छन्।
मेस्सीले क्लब छाडेपछि क्लबको १० नम्बर कसैले लगाउन नहुने धेरै फुटबल समर्थकले माग गर्दै आएका थिए। मेस्सीको सम्मानमा क्लबले उक्त जर्सी नम्बर रिटायर गर्नु पर्ने माग धेरैले गरे पनि स्पेनिस नियम अनुसार त्यो मान्य नहुने भएसँगै फाती क्लबका नयाँ नम्बर १० को रूपमा सार्वजनिक भएका हुन्। फाती भन्दा अगाडी उक्त जर्सी क्लबका नयाँ सदस्य सर्जियो अगुएरोले लगाउन अस्विकार गरेको बताइएको थियो।
के बार्सिलोनामा अन्सु फातीले मेस्सीको स्थान लिन सफल होलान् त ?