बार्सिलोनाका दिग्गज डिफेन्डर जेरार्ड पिकेले प्रतिद्वन्दी क्लब रियल म्याड्रिडले पीएसजी स्टार किलियन एम्बाप्पे अनुबन्ध गर्न असफल भएपछि म्याड्रिडलाई ट्रोल गरेका छन्। मंगलबार ट्रान्सफर विन्डो बन्द भएसँगै पिकेले ट्वीटरमा मार्काको एक लेख पोस्ट गर्दै रियल म्याड्रिडलाई ट्रोल गरेका हुन्।
लामो समयदेखि रियल आउने चर्चा चलेका एम्बाप्पे अर्को एक सिजन पीएसजी मै रहने पक्का भएको छ। हिजो मात्र बन्द भएको ट्रान्सफर विन्डोमा फ्रेन्च युवा स्टार स्पेनिस क्लबसँग अनुबन्ध हुने उच्च सम्भावना रहेको बताइएको छ। १३ पटकको च्याम्पियन्स लिग विजेताले २२ वर्षीय स्ट्राइकरका लागि ३ पटक २२० मिलियन सम्मको बिड पीएसजीलाई पठाएको थियो। तर फ्रेन्च क्लबले रियल हरेक प्रयास इन्कार गरेपछि रियल मिसन एम्बाप्पेमा हार मान्न बाध्य भएको हो।
El 7. https://t.co/r69HYSMcaH
— Gerard Piqué (@3gerardpique) August 31, 2021
यस्तोमा म्याड्रिड आधारित पत्रिका मार्काले केहि समय अगाडी रियलमा एम्बाप्पेले कुन जर्सी नम्बर लगाउने भन्ने बारे एक लेख प्रकाशित गरेको थियो। उक्त प्रकाशित लेखको स्क्रिनसट लिएर पोस्ट गर्दै पिकेले आफ्नो प्रतिद्वन्दी क्लबलाई नमाज्जाले ट्रोल गरेका छन्। पिकेको उक्त ट्वीटमा अहिलेसम्म १ लाख भन्दा बढीले लाइक गरेका छन् भने २० हजार भन्दा धेरै पटक रि-ट्वीट भइसकेको छ।
पिकेले उक्त स्क्रिनसट पोस्ट गर्दै क्याप्सनमा ‘इएल ७’ लेखेका छन्। जसले एम्बाप्पेले रियल म्याड्रिडमा ७ नम्बर जर्सी लगाउने चर्चालाई संकेत गर्छ। जारी सिजनको अन्त्यसँगै फ्रेन्च क्लबसँग एम्बाप्पेको सम्झौता पनि अन्त्य हुने हुँदा अर्को सिजन रियल म्याड्रिडलाई विश्व फुटबलका सबैभन्दा मूल्यवान खेलाडी फ्री मा अनुबन्ध गर्ने मौका मिल्नेछ। के रियल म्याड्रिड एम्बाप्पेलाई फ्री ट्रान्सफरमा अनुबन्ध गर्न सफल होला त ?