एमसीसीका कारण देउवाको यूटर्न !

काठमाडौं । संसदको आउँदो अधिवेशनबाटै अमेरिकी सहयोग परियोजना मिलिनियन च्यालेन्ज कर्पाेरेसन (एमसीसी) पारित गर्नुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावले सत्ता गठबन्धनमा तरंग ल्याएको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

मंगलबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर, उनको प्रस्तावलाई गठबन्धनका अरु सदस्यहरुले तत्कालै अस्वीकार गरेका थिए । एमसीसी धेरै विवादित भएको र गठबन्धनमा यसप्रति फरक धारणा राख्ने दलहरु सामेल भएकाले तत्काल एमसीसीलाई अघि नबढाउने सहमति नेताहरुबीच भएको थियो । तर, पछिल्लो समय देउवाले अमेरिकाको चाहनामा गठबन्धनका नेताहरुलाई दबाब दिएको बुझाइ माओवादी केन्द्रसहित गठबन्धनका अरु नेताहरुको भनाइ छ ।

‘प्रधानमन्त्रीजीले बिहान गठबन्धनको बैठकमा एमसीसी पारित गर्नुपर्ने भयो, मलाई दबाब आयो भन्नुभयो,’ गठबन्धनका एक नेताले भने, ‘हामीले नमानेपछि साँझ उहाँले ओलीलाई भेट्न ज्ञानेन्द्र कार्कीजीलाई खटाउनुभयो ।’ एमसीसीकै कारण सत्ता गठबन्धनमा दरार नआओस् भनेर सरकारको न्यूनतम साझा कार्यक्रममा समेत यो विषय समेटिएको थिएन ।

गठबन्धनलाई आगामी चुनाव र चुनावपछिसम्म पनि लैजाने र डेढ वर्षको चुनावपछि आउने सरकारले एमसीसीबारे निर्णय गर्ने सहमति जुटेको थियो । त्यसअघि संसदमा संकल्प प्रस्ताव लगेर या लेटर अफ एक्सचेन्जमार्फत् विवादित विषयहरु मिलाउनेमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहमत थिए ।

गठबन्धनको बैठकमा पनि अहिले एमसीसी पारित गरिए त्यसको राम्रो सन्देश नजाने निष्कर्ष निस्किएपछि दलहरु मौन थिए । तर, सेप्टेम्बर दोस्रो साता एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेपाल आउने डेढ महिनाअघि नै तय भइसकेको थियो । उनी नेपाल आउने भएपछि देउवालाई एमसीसी पारित गराउन थप दबाब परेको हो । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले एमसीसीबारे पार्टीको पुरानै धारणा रहेको र यसलाई कसरी अगाडि बढाउने भन्नेबारे सत्ता गठबन्धनमा छलफल चलिरहेको बताए ।

‘एमसीसीबारे कांग्रेस पहिलेदेखि नै खुला छ । हाम्रो धारणा फेरिएको छैन,’ खड्काले भने, ‘भर्खरै सरकार बनेको छ, विस्तार हुने क्रममा छ । हामीले गठबन्धनभित्र कसरी अघि बढ्ने भनेर छलफल गरिरहेका छौैँ ।’ तर, सत्ता गठबन्धनका अरु दलहरु भने एमसीसीलाई अहिले कुनै पनि हालतमा पारित गराउन नहुने पक्षमा छन् । यसअघि नेकपाको सरकार हुँदा समेत नेकपाभित्रको दुई मतका कारण अघि बढ्न नसकेको यो परियोजना अहिले पारित गरिए सरकार थप अलोकप्रिय बन्ने र यसले गठबन्धन बलियो हुन नसक्ने उनीहरुको तर्क छ ।

यद्यपि, गठबन्धनमा एमसीसीलाई के गर्ने भन्नेबारेमा औपचारिक प्रस्ताव नै नआएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए । ‘एमसीसी के गर्ने भनेर अहिलेसम्म औपचारिक प्रस्ताव आएको छैन,’ श्रेष्ठले भने, ‘प्रस्ताव आयो भने छलफल गर्छाैं ।’ संसदबाट एमसीसी अनुमोदन गराउने विषयमै छलफल गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका थिए । जवाफमा ओलीले संसदमा विधेयक पारित गर्न पुग्ने संख्या गठबन्धनसितै भएको जवाफ दिएका थिए । ओलीलाई भेट्न जानुअघि कार्कीले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग भेटेका थिए ।

एमसीसी उपाध्यक्ष फातिमा सुमार आउँदो साता नेपाल आउँदैछिन् । नेपालमा एमसीसी परियोजनाको स्थिति बुझ्न उनी नेपाल आउन लागेकी हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएलगत्तै फातिमा नेपाल आउने तय भएको थियो । नेपालमा रहँदा उनले दलहरुबाट एमसीसीबारेको धारणा बुझ्ने र कट्टर राय राख्नेहरुलाई त्यसबारे बुझाउने स्रोतको भनाइ छ ।

यसअघि पनि तत्कालीन सत्तारुढ दल नेकपामा एमसीसीबारे चर्काे विवाद भएका बेला त्यसका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल आएका थिए । त्यो बेला उनले सत्ता गठबन्धनका नेताहरुलाई भेटेर एमसीसीबारे स्पष्ट पार्ने प्रयास गरेका थिए । तर, तत्कालीन नेकपाको अध्ययन कार्यदलले एमसीसी सम्झौतामा रहेका केही अस्पष्टता हटाएरमात्रै यो परियोजना पारित गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित : बिहिबार, भदौ १७, २०७८०८:२८

देशभर कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या करोड नाघ्यो !