एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल अन्तर्गत बिहिबार भारतको सामना गर्दैछ। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको पहिलो घरेलु खेल दशरथ रंगशालामा साँझ ५:३० बाट सुरु हुनेछ।
प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपका लागि यसअघि २५ सदस्यीय टोली घोषणा गरेका छन्। जसमध्ये प्रमुख डिफेन्डर रोहित चन्द भारत विरुद्धको खेलमा उपलब्ध नहुने भएका छन्। इन्डोनेसियामा रहेका रोहित नेपाली टोलीसँग जोडिन असफल भएका हुन्। पछिल्लो खेलमा रातो कार्ड पाएका रोहित पहिलो खेलका लागि यसै पनि प्रतिबन्ध थिए।
रक्षापङ्क्तिमा गोलकिपरको भूमिकामा कप्तान किरण कुमार लिम्बु खेल्ने सम्भावना उच्च रहेको छ। तर प्रशिक्षक अलमुताइरीले बुधबार आयोजित पत्रकार सम्मेलनमा वैकल्पिक गोलकिपरलाई पनि मौका दिने संकेत दिएका छन्। लेफ्ट ब्याकमा सुमन अर्यालले सुरुवात गर्ने पक्का जस्तै रहेको छ। पछिल्लो समय रोहित चन्दका साथ नेपालको डिफेन्स सम्हाल्दै आएका अनन्त तामाङ पनि टोलीमा पर्ने सम्भावना उच्च छ। रोहितको स्थानमा भने अष्ट्रेलियाविरुद्ध पहिलो हाफको अन्तिम समयमा रोहित रातो कार्ड खाँदै बाहिरीएपछि अनन्तलाई साथ दिएका पुजन उपरकोटि नै खेल्ने देखिन्छ।
रक्षात्मक मिडफिल्डर तेज तामाङ टोलीमा फर्किएको कारण पनियो प्रशिक्षकले उपरकोटिलाई डिफेन्स मै मौका दिने देखिन्छ। त्यस्तै, उक्त स्थानका लागि दीनेश राजवंशी र डेब्यु गर्न बाँकी रहेका राजन गुरुङ पनि विकल्पका रूपमा रहेका छन्। त्यस्तै, डिफेन्स लाइनको दायाँ तर्फ भने पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका गौतम श्रेष्ठको विकल्प देखिँदैन।
मिडफिल्डमा सन्तोष तामाङले सुरुवात गर्ने लगभग पक्काजस्तै छ। त्यस्तै, उनलाई साथ दिन अलमुताइरीले मिडफिल्डमा सुमन लामाले सुरुवात गर्ने सम्भावना रहेको छ। डिफेन्सिभ मिडफिल्डमा भने तेज तामाङको सम्भावना प्रवल देखिन्छ।
आक्रमणमा नवयुग श्रेष्ठ र आशिष लामामध्य एकले मुख्य फरवार्डको भूमिका निर्वाह गर्ने देखिन्छ । मनिष डाँगीको गतिलाई पनि अलमुताइरीले आक्रमणमा प्रयोग गर्न सक्छन् । अन्जन विष्टले नेपालका लागि निरन्तर राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले आक्रमणमा स्थान बनाउने देखिन्छ ।
यस्तो देखिन सक्छ भारत विरुद्ध नेपालको सुरुवाती ११
गोलकिपर:किरण कुमार लिम्बु (कप्तान)
डिफेन्स: गौतम श्रेष्ठ – अनन्त तामाङ – पुजन उपरकोटी – सुमन अर्याल
मिडफिल्ड: तेज तामाङ – सन्तोष तामाङ – सुमन लामा
फरवार्ड: अन्जन विष्ट – नवयुग श्रेष्ठ – मनिष डाँगी