म्यानचेस्टर युनाइटेड दिग्गज तथा फुटबल पण्डित रियो फर्डीनाण्डले क्लबको नयाँ अनुबन्ध क्रिस्टियानो रोनाल्डोलाई पेनाल्टी प्रहार गर्न दिन क्लबलाई सुझाव दिएका छन्। रोनाल्डोलाई पेनाल्टी प्रहार गर्न सुझाव दिँदै उनले फ्री-किक भने ब्रुनो फर्नान्डेजले प्रहार गर्नुपर्ने बताएका छन्। हाल फ्री-किक र पेनाल्टी दुबै फर्नान्डेजले प्रहार गर्ने गरेका छन्।
युट्युब फाइभ च्यानलमा बोल्दा उनी विश्वस्त रहेका थिए कि क्लबले अबका सबै पेनाल्टी रोनाल्डोलाई प्रहार गर्न दिनु पर्छ। पूर्व इंग्ल्याण्ड डिफेन्डर फ्री-किक भने पछिल्लो समयको तथ्यांकलाई मध्यनजरमा राख्दै ब्रुनोले नै प्रहार गरुन् भन्ने चाहन्छन्। फर्डीनाण्डले भने,”मलाई लाग्छ अब क्लबमा ब्रुनोले पेनाल्टी प्रहार गर्न छाड्नु पर्छ तर फ्री-किक र कर्नर भने हान्नु पर्छ। कर्नर प्रहार नगरे पनि फ्री-किक भने प्रहार गर्नुपर्छ।”
पछिल्लो समयमा ब्रुनोको फ्री-किक रेकर्ड राम्रो भएको उल्लेख गर्दै पूर्व युनाइटेड डिफेन्डरले भने,”मलाई लाग्छ उनले फ्री-किक प्रहार गर्न निरन्तरता दिनेछन्। उनको रेकर्डले गर्दा पनि उनले नै प्रहार गर्नुपर्छ। मलाई लाग्छ रोनाल्डोले पेनाल्टी हान्नुपर्छ, १०० प्रतिशत। तर फ्री-किक भने ब्रुनोले प्रहार गर्नु पर्छ।”
क्लबले उपाधि जित्न चाहने हो भने ब्रुनोले अबबाट पेनाल्टी रोनाल्डोलाई प्रहार गर्न दिनुपर्ने फर्डीनाण्डको बुझाई रहेको छ। ब्रुनो फर्नान्डेजले आफैं बुझेर पनि यस्तो निर्णय लिने कुरामा पनि म्यानचेस्टर दिग्गज विश्वस्त रहेका छन्।