एजेन्सी – स्टार खेलाडी तथा टोलीका कप्तान बिना नै पोर्चुगलले विश्वकप छनोटमा अजरबैजानमाथि सहज जित हात पारेको छ। बाकु ओलम्पिया स्टेडियम बाकुमा मंगलबार राति भएको खेलमा पोर्चुगल ३-० ले विजयी भएको हो। घरेलु टोलीका घरेलु टोली माथि सहज जीत दिलाउनका लागि पोर्चुगलका बर्नाडो सिल्भा, आन्द्रे सिल्भा र डिएगो जोटा एक-एक गोल गरेका छन्।
खेल सुरु भएको २६औं मिनेटमा बर्नाडो सिल्भाको गोलबाट पोर्चुगल १–० को अग्रता लिन सफल भएको थियो। ब्रुनो फर्नान्डेजको पासमा सहज गोल गर्दै म्यानचेस्टर सिटी स्टारले पोर्चुगलका लागि गोलको खाता खोलेका हुन्। पहिलो हाफ निकै उत्कृष्ट प्रदर्शन गरेको पोर्चुगलका आन्द्रे सिल्भाले ३१ औं मिनेटमा डिएगो जोटाको पासमा गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर पारेका थिए।
पहिलो हाफमा २-० को अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा एक गोल गर्दै ३-० को सहज जीत निकाल्न सफल भएको हो। खेलको ७५ औं मिनेटमा जोआओ क्यानसेलोको पासमा डिएगो जोटाले गोल गर्दै आफ्नो टोलीको जीत पक्का गरेका हुन्।
जीतसँगै समूह ‘ए’ मा अपराजित रहेको पोर्चुगलले ५ खेलमा १३ अंक जोड्दै शीर्ष स्थानमा कायम रहेको छ। ११ अंकका साथ सर्बिया दोस्रो स्थानमा रहँदा एक खेल कम खेलेको लक्जम्बर्ग ६ अंकका साथ तेस्रो स्थानमा रहेको छ। त्यस्तै, ५ खेलबाट २ अंक जोडेको आयरल्याण्ड चौंथो स्थानमा छ भने पराजित भएको टोली अजरबैजान एक अंकका साथ समूहको पुछारमा रहेको छ।