एजेन्सी – क्याटलान क्लब बार्सिलोना पछिल्लो समय विभिन्न समस्याहरुसँग जुधिरहेको छ। कोरोना भाइरस महामारीका कारण निम्तिएको आर्थिक सङ्कट बार्सिलोनाका लागि सबै भन्दा ठूलो समस्या बनिरहेको छ। त्यति मात्र होइन डेढ दशक देखि क्लबलाई काँधमा बोकेका अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको बहिर्गमनले बार्सिलोना झनै समस्यामा छ।
मेस्सीको बहिर्गमनले बार्सिलोनाको खेललाई मात्र नभई अन्य क्षेत्रमा पनि असर पारिरहेको छ। मेस्सी नहुँदा क्लब जर्सी लगायतका सामग्री बिक्रीमा ठूलो गिरावट भोगिरहेको छ।
मेस्सी बाहिरिएपछि बार्सिलोनाका नयाँ जर्सीहरु कम बिक्री भइरहेको रिपोर्टहरु आएका छन्। स्पेनिस मिडियाहरुका अनुसार जर्सी लगायतका सामग्री बिक्री गराउन सक्ने मूख्य व्यक्तिको कमि बार्सिलोनामा खड्किरहेको छ।
यस्तै बार्सिलोनाको खेल हेर्न रंगशाला जाने दर्शकको संख्या पनि घटेको खबरहरु आएका छन्। मेस्सी बाहिरिएपछि बार्सिलोनाको स्टेडियम क्याम नोउ पहिला भन्दा अलि बढी नै खालि हुन थालेको मिडियाहरु दावी गर्छन्। मेस्सीले क्लब छाडेपछि होम गेममा पूरा टिकट बिक्री हुन छाडेको स्पेनिस मिडियाहरुको दावी छ।
को होला मूख्य खेलाडी ?
गएको १ दशक भन्दा बढी समय देखि बार्सिलोनाको मूख्य खेलाडीमा लियोनेल मेस्सी थिए। तर उनी बाहिरिएपछि बार्सिलोनाको मूख्य खेलाडी को हुने भन्नेमा सबैको चासो छ। क्लबले जर्सी नम्बर १० अन्सु फातिलाई दिने निर्णय गरिसकेको छ। यस हिसाबले फाति नै क्लबको मूख्य खेलाडी हुने अनुमान गर्न सकिन्छ।