एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको आगमनसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)को ‘ब्राण्ड भ्यालु’ ह्वातै बढेको छ। मेस्सीले मैदानमा आफ्नो जादू देखाउन नथाल्दै पिएसजीले विभिन्न प्रकारका लाभ पाउन थालिसकेको छ। मेस्सीको आगमनले क्लबलाई बजारमा अब्बल स्थानमा खडा गराएको छ।
अहिले पिएसजीको जर्सी बिक्री धेरै नै बढेको छ। मेस्सीको आगमन पछि पिएसजीको जर्सी मात्र नभई अन्य मर्चेन्डाइजका सामग्रीहरुको बिक्री पनि बढेको अन्तराष्ट्रिय संचार माध्यमहरु बताउँछन्। साथै मेस्सीको आएपछि पिएसजीको खेल हेर्न स्टेडियममा आउने दर्शकको संख्यामा पनि उछाल आएको छ।
त्यति मात्र होइन, मेस्सीको आगमनले धेरै प्रायोजकको ध्यान पनि पिएसजी तर्फ तानेको छ। चर्चित बहुमूल्य ब्राण्ड क्रिस्चियन डिओरले पिएसजीसँग सम्झौता गरिसकेको छ भने पिएसजीलाई अर्को एक प्रायोजकको पनि साथ मिलेको छ।
सिरी ‘ए’, फर्मुला वानसँग सहकार्य गरिसकेको ‘क्रिप्टो डट कम’ले पिएसजीसँग पनि साझेदारी गरेको हो। क्रिप्टो डट कमले पिएसजीसँग तीन वर्षे सम्झौता गरेको बताइन्छ। पिएसजीलाई क्रिप्टो डट कमको २५ देखि ३० मिलियन बराबरको प्रायोजन रहने अन्तराष्ट्रिय संचार माध्यमहरु दावी गर्छन्।
मेस्सी गत महिना पिएसजी पुगेका हुन्। विभिन्न कारणले गर्दा बार्सिलोनामा रहन नमिल्ने भएपछि मेस्सीले पिएसजी जाने निर्णय गरेका थिए। विश्वकै सर्वोत्कृष्ट खेलाडी मध्ये एक रहेका मेस्सीलाई पिएसजीले फ्री ट्रान्सफरमा पाएको थियो। मेस्सीलाई फ्रीमा पाउनु नै पिएसजीका लागि सबै भन्दा ठूलो फाइदा थियो।