एजेन्सी – इटालियन क्लब एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोविच ती फुटबलरमा पर्छन्, जो निर्धक्क बोल्छन्। ज्लाटन कुनै पनि बेला जिब्रो चपाएर बोल्दैनन्। उनी आफूलाई जे मन लाग्छ त्यो भनिछाड्छन्। यस्तै बानिका कारण ज्लाटनको फुटबल वृत्तमा छुट्टै पहिचान छ।
यसै बीच निस्फिक्री बोल्ने उनै ज्लाटनले बालोन डी ओरलाई लिएर गरेको टिप्पणी चर्चामा आएको छ। अहिले सम्म एक च्याम्पियन्स लिग र बालोन डी ओर जित्न नसकेका उनले बालोन डी ओर र च्याम्पियन्स लिग ट्रफी बारे गरेको टिप्पणी चर्चामा आएको हो।
के भनेका थिए ?
३९ वर्षको उमेर सम्म पनि फुटबल खेल्दै आएका ज्लाटनले आफ्नो करियरमा विभिन्न लिग र ट्रफी जिते। तर उनले आफ्नो करियरमा अहिले सम्म च्याम्पियन्स लिग जित्न सकेका छैनन्, न त उनले अहिले सम्म बालोन डी ओर नै जित्न सकेका छन्। यसलाई लिएर उनको मजाक बनाइने गर्छ। यस विषयमा ज्लाटन आफूले बालोन डी ओरलाई नभई बालोन डी ओरले आफूलाई याद गर्ने बताउँछन्। एक अन्तर्वार्ताका क्रममा उनले यस्तो बताएका हुन्।
“म बालोन डी ओरलाई मिस गर्दैन, बालोन डी ओरले मलाई मिस गर्छ।”,हालसालै एक अन्तर्वार्तामा ज्लाटनले भनेका छन्,”हामी सबै आफूलाई संसारको सर्वश्रेष्ठ देखाउन ट्रफी चाहन्छौं। तर मसँग त्यस्तो केहि ट्रफी नभएपनि म आफूलाई संसारको सबैभन्दा राम्रो खेलाडी मान्छु।”
च्याम्पियन्स लिग जित्दैमा राम्रो खेलाडी हुने र नजित्दैमा नराम्रो खेलाडी नहुने ज्लाटनले बताए। उनले भने,”के मैले च्याम्पियन्स लिग जितेको भए अहिले भन्दा राम्रो खेलाडी हुन्थें ? जितेको भए राम्रो हुन्थ्यो, तर जित्न सकिन। के अब म नराम्रो खेलाडी भएँ त ?”