एजेन्सी – यस पटकको ट्रान्सफर मार्केट धेरै नै उतार-चढावपूर्ण रह्यो। धेरैले नसोचेका र कल्पना नगरेका ट्रान्सफरहरु यस पटक सम्भव भए। सधैं फुटबलको केन्द्रमा रहने लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो यसपटक ट्रान्सफर बजारमा अत्याधिक छाए।
मेस्सी डेढ दशक देखिको क्लब बार्सिलोनालाई छाडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)मा अनुबन्धित हुँदा रोनाल्डो पूर्वक्लब म्यानचेस्टर युनाइटेड फर्किए।
विभिन्न कारणले गर्दा बार्सिलोना बस्न नमिल्ने भएपछि मेस्सी गत महिनाको शुरुवातमा पिएसजी पुगेका हुन्। पिएसजी पुगेपछि मेस्सीले डेब्यूका लागि केहि समय कुर्न पर्यो। मेस्सीले राइम्सविरुद्ध डेब्यु गरे। मेस्सीले खेलको ६६ औं मिनेटमा नेयामारको स्थान लिँदै पिएसजीका लागि डेब्यु गरेका हुन्।
पहिलो खेलमा मेस्सी र युवा स्टार किलियन एम्बाप्पे बीच केहि राम्रो तालमेल देखिएपनि मेस्सीले गोल गर्न सकेनन्। पिएसजीका लागि एक खेल मात्र अथवा आधा घण्टा आसपास मात्र खेलेका मेस्सीले खाता खोल्न बाँकी नै छ।
त्यस्तै यता यसै सिजन क्लब परिवर्तन गरेका रोनाल्डोले भने खाता खोलिसकेका छन्। रोनाल्डोले डेब्यु खेलमै खाता खोलेका हुन्। म्यानचेस्टर युनाइटेडमा दोस्रो पटकको लागि पुगेका रोनाल्डोले शनिबार राति डेब्यु गरे। त्यसक्रममा उनले दुई गोल गरे। रोनाल्डोले पहिलो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो गोल उनले ६२ औं मिनेटमा दोस्रो गोल गर्न सफल भएका भएका थिए।