प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७८’ स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८’ माथि विचार गरियोस् भनी राख्नुभएको प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो ।
बैठक चलिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले अवरोध कायमै राखेका थिए । उक्त प्रस्तावलाई स्वीकृत गर्नुपूर्व बैठकमा विधेयकउपर सैद्धान्तिक छलफल भई उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिएका थिए । सैद्धान्तिक छलफलमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र भाग लिएका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधका बीच प्रतिनिधिसभाको आजको बैठक शुरु भएको थियो । बैठक प्रारम्भ हुनासाथ एमालेका सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गरेका थिए ।
प्र्रतिपक्षी दलको अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई ‘विनियोजन विधेयक, २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए । अवरोधकै बीच ‘विनियोजन विधेयक, २०७८’ माथिको सैद्धान्तिक छलफल सुरु भएको थियो ।
एमालेले आफूले कारवाही गरेका १४ सांसदलाई संसद् प्रवेश निषेध गर्नुपर्ने माग राखी संसद्को चालू अधिवेशन प्रारम्भ भएदेखि नै अवरोध गर्दै आएको छ । प्रतिनिधिसभाको नवौँ अधिवेशन यही भदौ २३ देखि शुरु भएको थियो । संसद्को गतिरोध अन्त्यका लागि सभामुख सापकोटाले प्रतिनिधिसभामा सहभागी राजनीतिक दल सम्मिलित सर्वदलीय बैठक सोमबार आयोजना गरेका थिए । सो बैठकमा एमाले उपस्थित नभएपछि बैठक विनानिष्कर्ष सकिएको थियो ।