एक हप्ता भित्र मन्त्री थपिने माधव नेपालको दावी !

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र सरकारले पूर्णता पाउने बताएका छन् । शुक्रबार पार्टीको मीनभवनस्थित केन्द्रीय कार्यालयको उद्घाटन गर्दै उनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई सोधेका प्रश्नको जवाफका सन्दर्भमा छलफल भइरहेको जानकारी दिए । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

उनले नेपालले पञ्चशीलको सिद्धान्त अवलम्बन गर्दै आएकाले असंलग्न परराष्ट्र नीतिअनुरूप नै अघि बढ्ने बताए । अध्यक्ष नेपालले भने, ‘जग्गाको स्वामित्वमा नेपालको सार्वभौम अधिकार रहने र यसबाट उत्पन्न हुने बौद्धिक सम्पत्तिमा नेपालको अधिकारको सुनिश्चितता चाहन्छौँ ।’ उनले परियोजनामा नेपाली कर्मचारी र श्रमिक रहनुपर्नेमा जोड दिँदै कुनै सैन्य संगठन तथा सुरक्षा छाताभित्र नरहने र नेपालले स्वतन्त्र निर्णय गर्न पाउनुपर्ने विचार व्यक्त गरे ।

दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि नेकपा (एकीकृत समाजवादी) ले काठमाडौं महानगरपालिका–३१ स्थित कार्यालय शुक्रबारदेखि प्रयोगमा ल्याएको हो । सचिवालय सदस्य जीवनराम श्रेष्ठले कार्यालय स्थापना भएपछि पार्टीको राजनीतिक गतिविधि र बैठक सञ्चालन तथा महत्वपूर्ण दस्तावेजलगायत कागजात व्यवस्थित रूपमा अभिलेख गरिने बताए ।

यसैबीच, शुक्रबार नै एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले आयोजना गरेको भेलामा अध्यक्ष नेपालले भ्रमका कारण एमालेमा रहेका मानिसहरू ढिलो चाँडो आफ्नो पार्टीमा आउने जिकिर गरे । व्यवसायी भेलामा उनले कतिपय मानिस अल्मलिएर एमालेमै बसेको भन्दै असल भावना भएका ढिलो चाँडो एकीकृत समाजवादीमा आउने बताएका हुन् । उनले भने, ‘विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरू समाजवादीमा रूपान्तरित भइरहेका छन् ।’ उनले आफ्नो पार्टी नितान्त नयाँ नभएको उल्लेख गर्दै ०७७ चैत ४ र ५ गतेपश्चात् बनाएका पार्टी र सबै जनवर्गीय संगठनहरू रुपान्तरित भइरहेको जानकारी दिए ।

प्रकाशित : शनिबार, असोज ०२, २०७८०८:४५

‘एमसिसीका नाममा अनेक दाउपेच’