एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका उपाध्यक्ष एडुआर्ड रोमूले रियल म्याड्रिड धेरै राम्रो अवस्थामा रहेको बताएका छन्। एक स्पेनिस मिडियासंग कुराकानी गर्नेक्रममा एडुआर्ड रोमूले रियल म्याड्रिड धेरै सवल अवस्थामा अरहेको र त्यसको श्रेय रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई जाने बताएका हुन्।
फ्लोरेन्टिनो पेरेजले राम्रोसँग व्यवस्थापन सम्हालेका कारण रियल म्याड्रिड राम्रो र बलियो अवस्थामा पुगेको रोमूले बताए। गएका वर्षहरुमा उनले गरेका राम्रा निर्णयले नै रियल म्याड्रिडलाई अहिलेको अवस्थामा उभ्याएको उनको भनाई छ।
“फ्लोरेन्टिनो पेरेजले क्लबको व्यवस्थापन धेरै राम्रोसंग गरेका छन्। उनले पछिल्ला वर्षहरुमा गरेका निर्णयहरुकै कारण रियल यति बलियो अवस्थामा छ। उनी सम्मानको हकदार छन्। यदि हामीले पनि उनले जस्तै गर्न सकेको भए हामी पनि अहिले भन्दा धेरै रामो अवस्थामा हुने थियौं।”,रोमूले भने।
कोरोना महामारीका बाबजुत पनि रियल आर्थिक रुपमा धेरै राम्रो अवस्थामा रहेको रोमूले बताए। उनका अनुसार रियल म्याड्रिड युवा स्तरद्वय किलियन एम्बाप्पे र एर्लिङ हालाण्ड दुवै खेलाडी भित्र्याउन सक्ने अवस्थामा छ। रियल म्याड्रिडले दुवै युवा खेलाडीलाई भित्र्याउने उनको अनुमान छ।
“रियल म्याड्रिडले किलियन एम्बाप्पे र एर्लिङ हालाण्ड दुवैलाई भित्र्याउन सक्छ। समयमा राम्रोसंग व्यवस्थापन गर्न सकेको भए हामी पनि यस्तै अवस्थामा हुने थियौं। दुर्भाग्य हामी त्यस्तो अवस्थामा छैनौँ।”,उनले भने।
एम्बाप्पे र हालाण्डलाई एकै क्लबमा भित्र्याउन असम्भव देखिएपनि आर्थिक रुपमा बलियो अवस्थामा रहेका क्लबहरुक लागि खासै असम्भव नहुने उनको भनाई छ।