गठबन्धनमा अध्यादेश झमेला, चेपुवामा देउवा !

काठमाडौं । राजनीतिक दलसम्बन्धीको अध्यादेश, २०७८ प्रतिनिधि सभाको नवौं अधिवेशनको पहिलो बैठकमा सरकारले पेस गरिसकेको छ । तर अहिलेसम्म पास भने हुन सकेको छैन । एमालेले गरिरहेको संसद अवरोधका कारण यो अध्यादेश सदनमै अड्केको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

यता अध्यादेश पारित वा निष्क्रिय नभएसम्म फुटेका दलहरूले मान्यता पाउँदैनन् । त्यही भएर नेता माधव नेपाल र लोसपा अध्यक्ष महन्थ ठाकुरको दललाई मान्यता दिलाउन सरकारलाई यो अध्यादेश कि संसदबाट पारित गर्नुपर्छ कि निष्क्रिय बनाउनु पर्छ । संसदमा पेस गरेको दुई महिनासम्म पास हुन सकेन भने अध्यादेश स्वत : निष्क्रिय हुनेछ । एमाले सदन चल्न नदिएपछि ४ असोजसम्मका लागि संसद स्थगित भएको छ । एमालेले कहिलेसम्म सदन अवरोध गर्छ स्पष्ट छैन ।

संसद अवरुद्ध भइरहे अध्यादेश कात्तिकमा स्वतः निष्क्रिय हुनेछ । त्यसपछि मात्र जनता समाजवादी पार्टी सरकारमा सहभागी हुनेछ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल तत्काल सरकारमा नजाने बताएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका यादवले सरकारमा तत्काल सहभागी नहुनुको कारण खोलेका छन् । ‘अहिले हामी सरकारमा जाँदैनौं। नजानुको पछाडि मुख्य कारण राजनीतिक दलसम्बन्धीको अध्यादेश हो । यो निष्क्रिय नभएसम्म हामी सरकारमा सहभागी हुँदैनौं,’ यादवले भने ।

पाँच दलीय गठबन्धनमध्येको एक माधव नेपाल नेतृत्वको समूहलाई फाइदा पुग्नेगरी सरकारले दल फुटाउन पाउने अध्यादेश ल्याएको थियो । प्रधानमन्त्री देउवाले गठबन्धनका नेता माधव नेपाललाई सहज हुने गरी सरकारले पेस गरेको राजनीतिक दलसम्बन्धीको अध्यादेश भदौ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी थिइन् । राजनीतिक दलसम्बन्धीको अध्यादेश जारी भए लगत्तै तत्कालीन नेकपा एमाले भित्रको माधव कुमार नेपाल समूह छुट्टिएर नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरे । जसपाबाट हटेर महन्थ ठाकुरको नेतृत्वमा पनि बेग्लै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नामक दल दर्ता भयो ।

प्रकाशित : आइतबार, असोज ०३, २०७८०८:०३

एकाएक फेरिए देउवा, संसद् विघटन गरेर मध्यावधि निर्वाचन गर्ने मुड !