एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड पछिल्लो समय उच्च लयमा छ। अनुभवी खेलाडी र युवा खेलाडी बीचको तालमेल राम्रो हुँदा रियल म्याड्रिड उच्च स्तरको प्रदर्शन गरिरहेको छ। सन् २०२०-२१ को सिजनमा कुनै उपाधि जित्न नसकेपनि रियल सुखद लयमा देखिन्छ।
भन्ने हो भने रियल एक प्रकारले गएको गएको साढे सात महिना देखि लगभग पराजित भएको छैन। रियल फेब्रुअरी पश्चात एक पटक मात्र पराजित भएको छ। फेब्रुअरी यता रियललाई यदि कसैले पराजित गरेको छ भने त्यो चेल्सी मात्रै हो। रियल म्याड्रिड पछिल्लो पटक मे महिनामा च्याम्पियन्स लिगको सेमिफाइनलमा पराजित भएको थियो।
फेब्रुअरी भन्दा अगाडी सम्मको समय भने रियल म्याड्रिडका लागि खासै सुखद थिएन। रियल जनवरी महिनामा मात्रै दुई प्रतियोगिताबाट बाहिरिएको थियो। जनवरीमा रियल सुपरकोपा डे एस्पानाबाट र त्यसको एक हप्ता नबित्दै कोपा डेल रे बाट बाहिरिएको थियो। त्यसको १० दिन पछि रियल लालिगामा लेभान्टेसंग पराजित भएको थियो।
जनवरी ३० पश्चात कुनै पनि स्पेनिस टीमसंग पराजित भएको छैन। फेब्रुअरीको शुरुवात देखि समग्रमा रियलले २९ खेल खेल्दा २० खेलमा जित, ८ खेलमा बराबरी र एक खेलमा पराजय भोगेको छ। रियलको यस प्रकारको लयलाई हेर्ने हो भने रियल यस सिजन उपाधि बिहिन बन्ने देखिँदैन।
नयाँ सिजन
रियलले गत सिजन सकिए लगतै प्रशिक्षक जिनेदिन जिदान गुमायो। त्यसको केहि समयमै क्लबका डिफेन्डर तथा कप्तान सर्जियो रामोस फ्री ट्रान्सफरमा रियल छाडेर पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगे। त्यति मात्र होइन क्लबमा भरपर्दा अर्का डिफेन्डर राफेल वरानेलाई पनि रियलले बिर्की गर्यो। क्लबमा भएका यी लगायत विभिन्न परिवर्तनले पनि रियललाई खासै असर पारेको छैन।
नयाँ प्रशिक्षकमा कार्लो एन्सेलोटी आएपछि पनि रियल उस्तै रफ्तारमा देखिन्छ। क्लबमा युवा खेलाडीको प्रभाव बढ्दै गर्दा अनुभवी खेलाडीले पनि उल्लेख्य योग्दान पुर्याइरहेका छन्।