एमाले विधान महाधिवेशन : घनश्याम भुषालको फरक मत !

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले पार्टीको पहिलो विधान महाधिवेशनमा प्रस्तुत हुने कार्यक्रमिक तथा संगठनात्मक प्रस्तावमाथि बुँदागत टिप्पणी राखेका छन् । यही असोज १५ गतेदेखि १७ गतेसम्म एमालेको प्रथम विधान महाधिवेशन हुँदैछ । उक्त महाधिवेशनका लागि प्रस्तुत प्रतिवेदनमाथि भुसालले ’समृद्धि र समाजवादको हाम्रो बाटो’ शीर्षकमा ८ पृष्ठ लामो टिप्पणी प्रस्तुत गरेका छन् । एमालेको आइतबार बसेको स्थायी कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन, विधान प्रस्ताव र सांगठनिक प्रतिवेदन पेस भएको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

उक्त प्रस्तावमाथि छलफल सुरु भएको छ । प्रतिवेदनका सम्बन्धमा आइतबार केही स्थायी कमिटीका सदस्यहरूले आफ्नो धारणा राखेका थिए । सोमबार दिउँसो १ बजे बस्ने बैठकमा बाँकी सदस्यले बोल्नेछन् । त्यसपछि आगामी केन्द्रीय कमिटीको बैठकमा उक्त प्रतिवेदन पेस गरिनेछ ।

भुसालले सुरुमै लक्ष्य, कार्यदिशा, कार्यक्रम, संगठन र कार्यपद्धतिको संगतिपूर्ण व्याख्या नगरिएको टिप्पणी गरेका छन् । ’हाम्रो आजको आम कार्यभार राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी हो भनेपछि त्यो कसरी सम्पन्न हुन्छ भन्ने कुराको प्रत्याभूति हाम्रो दस्तावेजले गर्दैन,’ भुसाल लेख्छन्, ’त्यसले आजको कम्युनिस्ट आन्दोलनको समस्यालाई समाधान गर्न पार्टीलाई दिशाबोध गर्दैन ।’

उनले समाजको चरित्र र जनताको बहुदलीय जनवादजस्ता विषयको सैद्धान्तिक र तार्किक व्याख्या नभएको पनि उल्लेख गरेका छन् । समान्तवाद, सामान्त वर्ग, सामान्तवादका अवशेषजस्ता प्रसङ्गले विषयलाई अल्मल्याउने उनको टिप्पणी छ । उनले अब पनि जबजले मार्गदर्शन गर्छ भन्नु अतिशयोक्ति हुने पनि उल्लेख गरेका छन् । ’जनताको बहुदलीय जनवादले उल्लेख गरेभन्दा धेरै विषय हामीले अभ्यास गरिसकेका छौँ,’ भुसाल लेख्छन्, ’यसर्थ अब पनि सिद्धान्तको रूपमा यसले हामीलाई मार्गदर्शन गर्छ भन्नु अतिशयोक्ति हुन्छ ।’

प्रकाशित : सोमबार, असोज ०४, २०७८०९:१३

बैंकहरूमा तरलता, सेयर बजारमा पहिरो !