हिन्दू संस्कृतिमा श्राद्धको विशेष महत्व रहेको छ। श्राद्ध भनेको श्रद्धापूर्वक गरिने अनुष्ठान हो, जसबाट पुर्खाहरु सन्तुष्ट हुन्छन्। पितृको श्राद्ध गर्नाले जीवनमा आउने प्रतिकूलता पार गर्न मद्दत मिल्ने विश्वास रहिआएको छ। भाद्रपद महिनाको पूर्णिमादेखि आश्विन महिनाको औंशी पक्षलाई ‘महालय’ श्राद्ध पक्ष भनिन्छ। यस पक्षमा पितृको म-रण भएको तिथिमा छोरा र नातिद्वारा श्रद्ध गरिन्छ। यसो गर्नाले पितृ सन्तुष्ट हुन्छन् र परिवारलाई दीर्घायु, स्वास्थ्य, धन र स्वर्ग प्राप्ति जस्ता आशीर्वाद दिन्छन्।
मार्कण्डेय ऋषि भन्छन् कि पितृ सूक्ष्म स्वरुपमा श्राद्धको दिन आफ्नो छोरा-नातिको घरको द्वारमा सूर्योदय भन्दा पहिले नै आएर बस्छन्, यस आशमा कि उनीहरुका छोरा-नातिले पितृ भोजनका साथ आफूलाई सन्तुष्ट गर्छन्। तर यदि पितृहरुले भोजन प्राप्त गर्दैनन् निराश र क्रोधित हुँदै श्राप दिएर पितृलोक फर्किन्छन्। यसैले शास्त्रहरुमा भनिएको छ कि श्राद्ध गर्नु अनिवार्य छ। देवता भन्दा पहिले पितृलाई खुसी राख्नु पर्छ भन्ने विश्वास रहेको छ। शास्त्रका अनुसार पापको प्रायश्चित शारीरिक कर्म, पिण्ड दान, तर्पण, श्राद्ध, एकादशा, सपिन्दाकरण, अशोकाडी निर्णय, कर्मविपाक आदि बाट गरिन्छ।
श्राद्ध गर्ने नियम
शास्त्र अनुसार दक्षिण दिशामा चन्द्रमाको माथिल्लो कक्षाको पितृलोक रहेको छ। वास्तुमा दक्षिण दिशालाई पितृको दिशा मानिन्छ। पितृ पक्षमा पितृहरु दक्षिण दिशाबाट आउँछन्। त्यसैले, दक्षिण दिशामा पितृका लागि पूजा, तर्पण गरिन्छ। जुन दिन श्राद्ध तिथि हो, त्यस दिन सूर्योदयदेखि १२.३९ मिनेटको बीचमा आफ्ना पितृका लागि श्राद्ध-तर्पण आदि गर्नुहोस्।
श्राद्ध गर्दा दूध, गंगाजल, मह, कपडा, कुश, तिल आवश्यक हुन्छ। वास्तुमा पितृहरुको स्थान दक्षिण दिशामा मानिन्छ। त्यसैले, तर्पण गर्दा कर्ताको मुख दक्षिण तर्फ हुन आवश्यक हुन्छ। तर्पणको समय, पूजा स्थलको दक्षिण पूर्वमा अग्नि राख्नु शुभ हुन्छ किनकि यो दिशाले अग्नि तत्वको प्रतिनिधित्व गर्दछ। यस दिशामा अग्नि सम्बन्धि कार्य गर्नाले दुश्मनहरु माथि विजय प्राप्त हुन्छ, रोगहरु तथा समस्याहरु हट्नेछ र घरमा सुख र समृद्धि रहन्छ। श्राद्ध भोज गर्दा ब्राह्मण दक्षिण तर्फ मुख फर्काएर बस्नु पर्छ, यसो गर्दा पितृ सन्तुष्ट र खुसी हुन्छन्।